काठमाडौँ
००:००:००
६ श्रावण २०८३, बुधबार

६ श्रावण २०८३
अ+
अ-

काठमाडौँ । वर्षायाममा पटकपटक जलमग्न हुँदै आएको माइतीघर मण्डला क्षेत्रको डुबान समस्या समाधान गर्न काठमाण्डौ महानगरपालिकाले प्राविधिक अध्ययन अघि बढाएको छ।

महानगरले डुबानको वास्तविक कारण पहिचान गरी दीर्घकालीन समाधानका उपायसहित प्रतिवेदन पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाण्डौ तथा महानगरका सम्बन्धित विभागलाई प्राविधिक अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएकी हुन्।

अनुगमनका क्रममा सरोकारवाला निकायका अधिकारीहरूले माइतीघर क्षेत्रको विद्यमान ढल संरचनामा देखिएका कमजोरीलाई प्रारम्भिक कारणका रूपमा औँल्याएका छन्। डिभिजन सडक कार्यालयका अनुसार उक्त क्षेत्रमा रहेको मुख्य ढलको व्यास ९० सेन्टिमिटर भए पनि पानी निकास हुने स्थानमा ६० सेन्टिमिटरको मात्र संरचना रहेकाले बहाव प्रभावित भएको देखिएको छ।

स्थलगत निरीक्षणमा सहभागी अधिकारीहरूले माइतीघर मण्डला वरपरका संरचना निर्माणका क्रममा ढल निकास प्रणालीमा परेको असरको समेत अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। त्यसका लागि निकास मार्गमा रहेका अवरोध पहिचान गरी हटाउने प्रक्रिया अघि बढाइने भएको छ।

अनुगमनपछि कार्यवाहक प्रमुख डंगोलले सम्बन्धित सरकारी निकायसँग समन्वय गरी माइतीघर क्षेत्रलाई स्थायी रूपमा डुबानमुक्त बनाउने योजना अघि बढाइने बताइन्। उनले तत्कालीन व्यवस्थापनसँगै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन पूर्वाधार सुधारमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएकी छन्।

माइतीघर काठमाण्डौको व्यस्त र संवेदनशील क्षेत्रमध्ये एक भएकाले यहाँको डुबानले यातायात, पैदल यात्रु तथा आसपासका व्यवसायमा समेत प्रत्यक्ष प्रभाव पार्दै आएको छ।