काठमाडौँ। काठमाडौं चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको कलंकी–बसुन्धारा खण्ड निर्माण कार्य चाडपर्व (दसैँ–तिहार)लगत्तै सुरु हुने भएको छ।
अन्तिम डिजाइन स्वीकृतिपछि चिनियाँ पक्षले चीनमै टेन्डर प्रक्रिया पूरा गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको योजना प्रमुख आशिका पोखरेलले जानकारी दिइन्।
उनकाअनुसार परियोजनाअन्तर्गत मुख्य एक्सप्रेस–वे बाहिरको सर्भिस लेन निर्माण नेपाली स्रोतबाट भइरहेको छ। उक्त कार्यको करिब ८० प्रतिशत प्रगति भइसकेको छ। केही स्थानमा कालोपत्रे गर्नमात्र बाँकी छ।
मुख्य एक्सप्रेस–वे निर्माणका लागि चिनियाँ पक्षले प्रारम्भिक डिजाइन (प्रिलिमिनरी डिजाइन) पेस गरिसकेको छ। त्यसमा नेपाल पक्षबाट आवश्यक सुझाव तथा टिप्पणी दिइसकिएको र हाल अन्तिम डिजाइन पेस गर्ने चरणमा रहेको उनले बताइन्। ‘यही मितिमा सुरु हुन्छ भन्ने छैन। मनसुन तथा चाडपर्वपछि कार्यान्वयनको चरणमा प्रवेश गर्छ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भनिन्।
चीनमा टेन्डर प्रक्रिया नेपालको तुलनामा छोटो हुने भएकाले निर्माण प्रक्रिया छिट्टै अघि बढ्ने उनले विश्वास व्यक्त गरिन्। साइट क्लियरेन्स गर्न समय लागेकाले परियोजना ढिलाइ भएको उनको जिकिर छ।
घरटहरा, रुखविरुवा तथा अन्य संरचना हटाउने काम सम्पन्न नहुँदा चिनियाँ पक्ष निर्माणमा आउन नसकेको र त्यसैबीच कोभिड–१९ महामारीका कारण परियोजना करिब तीनदेखि चार वर्ष पछि धकेलिएको उनले बताइन्। पछिल्लो समय भने आवश्यक कागजी प्रक्रिया, पत्राचार, सर्वेक्षण तथा डिजाइनसम्बन्धी काम निरन्तर अघि बढिरहेको उनको भनाइ छ।
परियोजनाको प्रारम्भिक अनुमानित लागत करिब १२ अर्ब रुपैयाँ थियो। तर, मुद्रास्फीति तथा डिजाइनमा गरिएको सुधारका कारण लागत पुनः अद्यावधिक भइरहेको छ।
अन्तिम डिजाइनसँगै संशोधित लागत विवरण प्राप्त भएपछि मात्र यकिन लागत सार्वजनिक गर्न सकिने उनले बताइन्। दोस्रो चरणमा सम्भावित जटिलतालाई पहिल्यै पहिचान गरी समाधानको प्रयास भइरहेको उनको भनाइ छ।
‘पहिलो चरणको कार्यान्वयन गर्दा के–के जटिलता हुन्छ भनेर थाहा पायौँ। त्यसैले कमजोरीलाई सम्बोधन गर्न पहिल्यैदेखि व्यापक अध्ययन, प्राविधिक अभ्यास तथा पत्राचारको काम गरेका छौँ,’ पोखरेलले भनिन्।
उनकाअनुसार चिनियाँ पक्षले पनि तोकिएको समयमै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। निर्माणका कारण सर्वसाधारणले केही समय असुविधा व्यहोर्नुपर्ने भएकाले धैर्य गरिदिन उनले आग्रह गरिन्।