काठमाडौँ
००:००:००
७ श्रावण २०८३, बिहीबार

७ श्रावण २०८३
अ+
अ-

रूपन्देही । अर्घाखाँची जिल्लामा बाँदरको उपद्रवका कारण कृषि बालीमा हुने क्षति रोक्न डिभिजन वन कार्यालय अर्घाखाँचीले २० जना ‘बाँदर हेरालु’ माग गरेको छ।

डिभिजन वन कार्यालयले मङ्गलबार एक सूचना जारी गर्दै जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा कृषि बालीको संरक्षण तथा बाँदर व्यवस्थापनका लागि दरखास्त आह्वान गरेको हो।

वन सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन गरेका समूहहरूको लागत साझेदारीमा बाँदर हेरालु नियुक्त गर्न लागिएको हो । इच्छुक र योग्यता पुगेका प्रभावित क्षेत्रका नागरिकले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र कार्यालय समयसम्म दरखास्त दिन सक्नेछन्।

छनोट हुने बाँदर हेरालुले २०८३ साउन १० देखि असोज १० गतेसम्म दुई महिनाका लागि काम गर्नुपर्नेछ । उनीहरूलाई मासिक १२ हजार ५०० रुपैयाँ पारिश्रमिक दिइनेछ।

बाँदर हेरालुका लागि सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्ने र उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने योग्यता तोकिएको छ । वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा रुचि भएको व्यक्ति हुनुपर्नेछ भने सामुदायिक वन उपभोक्ता समूह, वन हेरालु, नर्सरी हेरालु, नाइके हेरालु वा सोही प्रकृतिको कार्यमा अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ ।

छनोट भएका हेरालुहरूले बाँदरको नियमित निगरानी गर्ने, कृषकहरूलाई समयमै सूचना दिने तथा आवश्यक समन्वय गर्ने जिम्मेवारी पाउनेछन् । साथै बाँदरबाट भएको बाली क्षतिको अभिलेख राखी सम्बन्धित वडा र वन कार्यालयमा जानकारी गराउने तथा बाँदरलाई मानवीय एवं वातावरणमैत्री तरिकाले खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतर्फ धपाउने काम गर्नुपर्नेछ।

दरखास्तका साथ निवेदन, अनुभव भए सो खुल्ने प्रमाणपत्र तथा विगतमा बाँदरको क्षतिको विवरणसहितको वडाको सिफारिस पत्र संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ । प्राप्त दरखास्तको मूल्याङ्कन गरी प्रभावित क्षेत्रका २६ स्थानमा उनीहरूलाई खटाइनेछ। तर स्थानीयले गाउँमा ४५ वर्ष नकाटेका युवाहरू कम भएकोले यो आधारले मुख्य मान्छे पाउन संभव नभएको जनाएका छन्।