जनकपुरधाम। कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामले मधेश प्रदेश सरकारद्वारा निर्धारित ‘बफर’ कोटाको रासायनिक मल वितरण सुरु गरेको छ। धान रोपाइँको समयमा रासायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गरेर स्थानीय तहको सिफारिसका आधारमा बफर कोटाको युरिया र डीएपी रासायनिक मलको वितरण सुरु गरेको हो।
मधेश प्रदेश सरकारको गत ३१ असारकाे निर्णयबमोजिम स्थानीय तहगत रूपमा निर्धारण गरिएको बफर कोटाअनुसार युरिया र डीएपी मल बिक्री–वितरण सुरु गरिएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामका सूचना अधिकारी बेचन साहले जानकारी दिए।
उनका अनुसार मलको वितरणसँगै जिल्लामा केही समयअघिसम्म रहेको डीएपी मलको अभाव विस्तारै हट्दै गएको छ। साउनको दोस्रो सातासम्म थप युरिया र डीएपी मल आउने भएकाले मलको अभाव पूर्ण रूपमा हट्ने उनको भनाइ छ।
यसैबीच कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम, धनुषाले पछिल्लो एक वर्षको अवधिमा १८ हजार ७४५ दशमलव १ मेट्रिक टन रासायनिक मल किसानलाई वितरण गरेको छ।
कार्यालयका सूचना अधिकारी साहका अनुसार सो कार्यालयले आर्थिक वर्ष २०८२–८३ मा युरिया ११ हजार २४१ दशमलव ३५० मेट्रिक टन, डीएपी छ हजार ९६३ दशमलव ३०० मेट्रिक टन, पोटास ३७९ दशमलव ५५० मेट्रिक टन र कृषि चुन १६० दशमलव ९०० मेट्रिक टन रासायनिक मल किसानलाई वितरण गरेको छ।
सो कार्यालयलाई आव २०८२–८३ मा युरिया १० हजार ६१८ दशमलव ५०० मेट्रिक टन, डीएपी सात हजार २८९ मेट्रिक टन, पोटास ४६३ मेट्रिक र कृषि चुन २३५ मेट्रिक टन रासायनिक मल प्राप्त भएको सूचना अधिकारी साहले बताए। यसबाट अधिकांश प्राप्त मल किसानसम्म पुगिसकेको देखिएको छ।
धान रोपाइँको मुख्य सिजनमा समेत कार्यालयले आवश्यकताअनुसार मल वितरण गर्दै मौज्दात व्यवस्थापनलाई प्रभावकारी बनाएको कार्यालय प्रमुख ध्रुव चौधरीले बताए। धान रोपाइँलाई लक्षित गरी मलको नियमित आपूर्ति, मौज्दात व्यवस्थापन र वितरण प्रक्रियालाई व्यवस्थित बनाइएको प्रमुख चौधरीको भनाइ छ। किसानको मागअनुसार थप मल उपलब्ध गराउन आवश्यक समन्वयसमेत भइरहेको र यस वर्षको थप मल केही दिनभित्रै आइपुग्ने प्रमुख चौधरीले बताए।