काठमाडौँ
००:००:००
७ श्रावण २०८३, बिहीबार

७ श्रावण २०८३
नेकपा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्ण जिसी।
अ+
अ-

सुर्खेत। कर्णालीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध संसदमा जाने अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

बिहीबार बिहान बसेको नेकपा संसदीय दलको बैठकले यो निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए।

“हाम्रो पुरानै अडानअनुसार आज वैठकबाट निर्णय भएको छ, दुई घण्टासम्म बसेको बैठकले अविश्वासको प्रस्तावको पक्षमा उभिने भन्नेमा अगाडि बढाएको छ।” उनले भने।

कर्णालीका मुख्यमन्त्री कँडेलको क्याविनेटमा रहेको काँग्रेसका चार जना मन्त्रीहरुले असार ३१ गते राजीनामा दिएका थिए। त्यसको भोलिपल्ट ३२ गते नेपाली काँग्रेस र नेकपा मिलेर मुख्यमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

नेपाली काँग्रेस संसदीय दलले बुधबार वैठक बसेर अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ।

यसअघि नेपाली काँग्रेस र नेकपा एमालेबीको सत्तासमीकरणअनुसार मुख्यमन्त्री कँडेल बनेका थिए। पछिल्लो पटक केन्द्रमा नेपाली काँग्रेसले एमालेसँग सहकार्य नगर्ने निर्णय गरेपछि यता कर्णालीमा पनि अविश्वास प्रस्ताव दर्ता गरिएको थियो।

४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार गठनका लागि २१ जना सांसद चाहिन्छन्। हाल नेकपाका १४, काँग्रेसका १४ सांसद छन्। नेकपा एमालेका १०, राप्रपा र स्वतन्त्र एक/एक जना सांसद छन्।

अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्दा नेकपाले काँग्रेसलाई नेतृत्व लिन अघि सारेको छ। काँग्रेस दल नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आह्वान गरिएको छ।

कार्यव्यवस्था परामर्श समितिको वैठक बसिरहेको छ।