हेटौँडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा तीन भारतीयसहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले भारतको पटना बस्ने २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार, २३ वर्षीय अमनराज सरकार र मकवानपुर हेटौँडा उपमहानगरपालिका १० स्थित बाँस्तोला होटेलका सञ्चालक ३७ वर्षीय दीपक बाँस्तोलालाई पक्राउ गरेको हो।
निजहरूको मिलोमतोमा भारतीय समेतलाई विभिन्न प्रलोभन देखाई अनलाइनबाट ठगी गर्ने गरेको भन्ने सूचानका आधारमा हेटौँडा १० मा रहेको बाँस्तोला होटेलबाटै चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा निजहरूले प्रयोग गर्ने मोबाइलमा ठगी प्रयोजनका लागि टेलिग्राम, ह्वाट्सएपलगायत एसहरूमार्फत ग्रुप तयार गरी रकमको कारोबारसमेत भएको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीले जिल्ला अदालत हेटौँडाबाट अनलाइन ठगीसम्बन्धी कसुर मुद्दामा म्याद थपी अनुसन्धान भइरहेको पनि जानकारी दिएको छ।