जनकपुर। गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर गौर कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा आन्दोलनका क्रममा कारागारबाट फरार रौतहटको कटहरिया नगरपालिका ७ का ३० वर्षीय प्रभु माझीलाई प्रहरीले पक्राउ गरेको हो।
आन्दोलनका क्रममा गत २४ भदौमा कारागारबाट फरार भई गाउँघरमा लुकीछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले रौतहटको कटहरिया नगरपालिका ७‚ बगहीबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार माझीलाई कैद भुक्तानका लागि कारागार कार्यालय गौर रौतहटमा बुझाइएको छ।
२५ फागुन २०६८ मा रौतहटको कटहरिया नगरपालिका ७ स्थित पोखरीको डिलमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणीपश्चात हत्या गरेको कसुरमा सर्वोच्च अदालतले माझीलाई २० वर्ष कैद फैसला सदर गरी गौर कारागार कार्यालय पठाएको थियो। -रासस