काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको १३औँ स्मृति दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले नेपाली कम्युनिस्ट आन्दोलनले धक्का खाएको वर्तमान अवस्थामा पुष्पलाल र नरबहादुरजस्ता नेताहरूको योगदानको स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र जीवित बनाउनुपर्नेमा जोड दिएका हुन्।
उनले राष्ट्रिय स्वाधीनतामाथि आएको संकटको समाधान गर्न, निरंकुश प्रवृत्तिविरुद्ध संघर्ष गर्न र दृढ संकल्पका साथ अघि बढ्न समर्पित हुनुपर्ने धारणा राखे। दाहालले पुष्पलालका सहयोद्धाका रूपमा नरबहादुर कर्माचार्यले मजदुर आन्दोलन, वर्ग संघर्ष र क्रान्तिमा अहं भूमिका खेलेको स्मरण गए।
उनले केही वर्ष मात्र सक्रिय हुनु वा त्याग गर्नु ठुलो कुरा नभएको भन्दै जीवनभर विचार, निष्ठा र उद्देश्यप्रति निरन्तर लागिरहनु गाह्रो कुरा भए पनि नरबहादुर आजीवन क्रान्तिकारी कित्तामै दृढ रहेको बताए।