काठमाडौं । नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघेको छ। सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म कुल ८० लाख ९ हजार ६२३ डिम्याट खाता खोलिएका छन्।
यद्यपि, एउटै व्यक्तिले दुई वा सोभन्दा बढी डिम्याट खाता खोल्न सक्ने व्यवस्था रहेकाले कुल खातामध्ये दोहोरिने र तेहरिने खाताको संख्या पनि उल्लेख्य छ। तथ्यांकअनुसार मेरो सेयरका सक्रिय प्रयोगकर्ता भने ५१ लाख ४८ हजार ८९४ मात्र रहेका छन्। यस आधारमा करिब २९ लाख डिम्याट खाता निष्क्रिय अवस्थामा रहेको देखिन्छ।
सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म १८ अर्ब ६० करोड २९ लाख ५८ हजार ७८२ कित्ता सेयर डिम्याट भइसकेका छन्। जबकि बजारमा सूचीकृत कुल सेयर संख्या १९ अर्ब २७ करोड ६४ लाख ८८ हजार ६९८ कित्ता रहेको छ।
यसअनुसार अझै ६७ करोड ३५ लाख २९ हजार ९१६ कित्ता सेयर डिम्याट हुन बाँकी रहेको देखिन्छ। ती सेयर अझै भौतिक प्रमाणपत्रकै रूपमा रहेको वा विभिन्न कारणले नष्ट भएको हुन सक्ने अनुमान गरिएको छ।