काठमाडौँ। लजिस्टिक सेवा प्रदायक कम्पनी ‘उपाय’ले एक वर्षमै ५४ प्रतिशतको कारोबार रकम बढाएको छ। उपायका अनुसार गत आवमा उत्कृष्ट वित्तीय प्रदर्शन गर्दै कारोबार रकम ५४ प्रतिशतले उकासिएको हो।
एक विज्ञप्ति जारी गर्दै कम्पनीले ढुवानी सेवामा भएको वृद्धि, देशव्यापी शाखा विस्तार, नयाँ व्यावसायिक ग्राहक, फुलफिलमेन्ट सेवाको विस्तार, बढ्दो इकमर्स बजार तथा दैनिक पार्सल भोल्युममा भएको वृद्धिका कारण यस्तो वित्तीय सफलता हात परेको जनाएको छ।
कर्मचारी संख्या, वितरण सञ्जाल र डेलिभरी क्षमतामा पनि गत आवमा उल्लेख्य वृद्धि भएको कम्पनीको ठहर छ। गत आवको सुरुआती समयमा ३८० कर्मचारी रहेकामा अहिले करिब १५ सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइएको विज्ञप्तिमा उल्लेख छ। “प्रत्यक्ष रोजगारीसँगै हजारौँ डेलिभरी पार्टनर, स्थानीय बासिन्दालाई रोजगारी, ट्रान्सपोर्ट साझेदार तथा अन्य सेवा प्रदायकमार्फत अप्रत्यक्ष पाँच हजारभन्दा अधिक रोजगारी पनि सिर्जना भएको छ,” विज्ञप्तिमा छ।
कम्पनीको मानव संशाधन विभागका असिस्टेन्ट भाइस प्रेसिडेन्ट राजु केसीका अनुसार एक वर्षमै कर्मचारी संख्या चार गुणाले बढ्नुले नेपालको श्रम बजारमा पनि सकारात्मक प्रभाव परेको छ। यस्तै दैनिक डेलिभरी क्षमता पनि उल्लेखनीय रूपमा बढेको कम्पनीको दाबी छ। कम्पनीले अहिले प्रतिदिन १५ हजार पार्सल वितरण गरिरहेको बताइएको छ।

उपायले हाल काभ्रेको साँगामा १८ रोपनीभन्दा ठुलो जमिनमा करिब ४५ हजार वर्गफुट क्षेत्रफलमा अत्याधुनिक थ्री-पीएल (थर्ड पार्टी लजिस्टिक्स) वेयरहाउस निर्माण गरिरहेको छ। ६ महिनाभित्रमा यो वेयरहाउस सञ्चालनमा आउने कम्पनीको भनाइ छ।
उपायको फुलफिलमेन्ट डिभिजनका प्रेसिडेन्ट संगम पौडेलले पार्सल डेलिभरी मात्र नभएर सप्लाई चेनलाई नै प्रभावकारी बनाउने गरी आफूहरू लागिपरेको बताएका छन्। “हाम्रो उद्देश्य केवल कम्पनीको वृद्धि होइन। नेपालको सम्पूर्ण लजिस्टिक्स इकोसिस्टमलाई नयाँ स्तरमा पुर्याउनु हो,” उनले भने।