काठमाडौँ
००:००:००
१२ श्रावण २०८३, मंगलवार

११ श्रावण २०८३
अ+
अ-

चितवन। कारागार कार्यालय भरतपुरबाट गत भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा भागेका कैदीबन्दीमध्ये ९७ जना अझै फर्किएका छैनन्। नौ भारतीयसहित ९७ कैदीबन्दी अझै सम्पर्कमा नआएको कारागार प्रशासनले जनाएको छ।

यस कारागारबाट गत २५ भदौमा ७३९ कैदीबन्दी भागेका थिए। तीमध्ये ६४१ जना फर्किएका छन्। एक जनाको भने परिवारको सम्पर्कमा पुगेपछि मृत्यु भएको कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुंगानाले जानकारी दिए। उनका अनुसार तत्कालीन समयमा चार नाबालकसहित ७४३ कैदी भागेकामा नाबालकलाई कैदीबन्दीको सूचीमा नराखिने भएकाले ७३९ को विवरण मात्र उल्लेख गरिएको हो।

यसरी सम्पर्कविहीन भएकाहरूमध्ये लागुऔषध र जबरजस्ती करणीका कैदी बढी रहेका कार्यालयका निमित्त प्रमुख ढुंगानाले जानकारी दिए। कारागार कार्यालयले गत २० असोजसम्म सम्पर्कमा आउन आग्रह गरेको थियो।

कारागारले तोकेको समयसम्म सम्पर्कमा नआए कारागार ऐन, २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो। फरार कैदीबन्दी लुकाउने, आश्रय दिने गरेको पाइए आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही गरिने उनले बताए। भागेकाहरू नवलपरासी (बर्दघाट-सुस्ता)पूर्वसहित अन्य जिल्लाका छन्।