काठमाडौँ
००:००:००
११ श्रावण २०८३, सोमबार

११ श्रावण २०८३
अ+
अ-

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन र आगजनी भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।

आइतबार राति दुई समूहबीच भएको झडपले उग्र रूप लिएपछि सोमबार बिहानैदेखि प्रशासनले निषेधाज्ञा (कर्फ्यु) जारी गरेको थियो । तर, प्रदर्शनकारीले कर्फ्युको अवज्ञा गर्दै विभिन्न स्थानमा तोडफोड र आगजनी सुरु गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सेना परिचालन गरिएको हो।

हतियारसहितको सेनाको टोली पुगेपछि अहिले कप्तानगञ्ज क्षेत्रको अवस्था विस्तारै सामान्य बन्दै गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले प्रदर्शनकारीले उग्र रूप लिएपछि सुरक्षा व्यवस्था कडा पारिएको र अवस्था सामान्य बनाउने प्रयास भइरहेको जानकारी दिए।

आइतबार राति दुई पक्षबीचको विवादले हिंसात्मक मोड लिँदा स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाएको थियो। सो क्रममा गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। झडप र प्रहरीको कारबाहीमा नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पताल जनाएको छ । उनीहरुको शरिरको विभिन्न भागमा गोली लागेको छ।

प्रहरीका अनुसार झडपका क्रममा सुरक्षाकर्मी र सर्वसाधारण गरी २२ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानैदेखि कप्तानगञ्जसहित पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। तर, बिहानैदेखि स्थानीयले प्रदर्शन र नाराबाजी नरोकेपछि स्थिति तनावग्रस्त बनेको थियो। हाल उक्त क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तैनाथ गरिएको छ।