काठमाडौँ
००:००:००
११ श्रावण २०८३, सोमबार

११ श्रावण २०८३
अ+
अ-

विराटनगर। सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समुदायबीचको विवादले उग्र रूप लिँदा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।

स्थिति नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार झडप नियन्त्रणका लागि सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगन्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो । गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याउनासाथ आइतबार राति ११ :२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

झडपमा परी सर्वसाधारण र सुरक्षाकर्मी गरी २२ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जना सर्वसाधारण, ८ जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी छन् । नेपाल प्रहरीतर्फ इलाका प्रहरी कार्यालय देवानगन्जका इन्स्पेक्टर राकेश राईको टाउकोमा गम्भीर चोट लागेको छ । घाइतेहरूको विराटनगरस्थित कोशी अस्पताल, विराट नर्सिङ होम र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यसरी सुरु भयो विवाद
प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे साउने सोमबारको बोलबम यात्राका लागि युवाहरूको एउटा समूह डिजे बजाउँदै सप्तकोसीतर्फ जाने तयारीमा थियो । डिजेको आवाजलाई लिएर अर्को पक्षले विरोध गरेपछि विवाद सुरु भएको थियो । सामान्य भनाभनबाट सुरु भएको विवाद केहीबेरमै हिंसात्मक झडपमा परिणत भयो । दुवै पक्षबाट लाठी, ढुंगा, चिर्पट र भाला प्रहार हुन थालेपछि कप्तानगन्ज बजार क्षेत्र तनावग्रस्त बनेको थियो । उत्तेजित भिडले स्थानीय घर, मेडिकल पसल र सवारीसाधनमा समेत तोडफोड र आगजनीको प्रयास गरेका थिए ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेको थियो । तर, दुवै पक्षबाट सुरक्षाकर्मीमाथि नै आक्रमण हुन थालेपछि राति १० : ४५ बजे सशस्त्र प्रहरीले गोली चलाएको डीएसपी खड्काले जानकारी दिए ।

सुनसरीको पाँच स्थानमा कर्फ्यु
हिंसात्मक झडपपछि उत्पन्न तनावलाई थप बढ्न नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना नभएसम्मका लागि पाँचवटा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जारी गरेको आदेश अनुसार हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगन्ज र देवानगन्ज बजार क्षेत्रका साथै देवानगन्ज गाउँपालिका–३ को कप्तानगन्ज बजार क्षेत्रमा कर्फ्यु लगाइएको हो । कर्फ्यु लगाइएका क्षेत्रमा हिँडडुल गर्न, भेला हुन, सभा–जुलुस वा प्रदर्शन गर्न पूर्ण रोक लगाइएको छ । आदेश उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुनी कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

अहिले घटनास्थलमा जिल्लाका विभिन्न युनिट, कोशी प्रदेश प्रहरी गण र दंगा नियन्त्रण गण दुहबीबाट ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले थप क्षति हुन नदिन सुरक्षा व्यवस्थामा कडाइ गर्ने निर्णय गरेको छ । हाल अवस्था नियन्त्रणमा रहेको र दुवै पक्षलाई संयमित रहन आग्रह गर्दै छलफलको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।