काठमाडौँ
००:००:००
१२ श्रावण २०८३, मंगलवार

१२ श्रावण २०८३
अ+
अ-

सुनसरी । सुनसरी जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय, सुनसरीले सूचना जारी गरी सोमबार राति ९ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको जानकारी दिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम तोकिएको सीमाभित्र आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी जारी गरिएको कर्फ्यु आज बिहान १२ः१५ बजेदेखि खुला गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनामा उल्लेख छ ।

यसअघि केन्द्रिय सुरक्षा समितिको निर्णयपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सिमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोपाली टोल) पश्चिममा कोशी व्यारेजको पुल तथा उत्तर र दक्षिण तर्फ राजर्माको २ सय मिटरको दुरीमा कर्फ्यु आदेश जारी गरेको थियो ।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी रिजालले कर्फ्यु जारी गरेका थिए ।

कप्तानगञ्जमा भएको हिंसात्मक घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापा संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । छानबिन टोली सोमबार राति विराटनगरमा पुगेको छ । टोलीले विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।