काठमाडौँ
००:००:००
१२ श्रावण २०८३, मंगलवार

१२ श्रावण २०८३
अ+
अ-

काठमाडौं । नेपालको मुस्ताङस्थित शिन्तामणि मुस्ताङ विश्वका उत्कृष्ट विलासी होटलको सूचीमा पहिलो स्थानमा परेको छ।

अन्तर्राष्ट्रिय लक्जरी लाइफस्टाइल पत्रिका रोब रिपोर्टले सार्वजनिक गरेको सन् २०२६ का विश्वका ५० उत्कृष्ट विलासी होटलको सूचीमा शिन्तामणि मुस्ताङले शीर्ष स्थान हासिल गरेको हो।

विश्वभरका चर्चित होटल तथा रिसोर्टलाई पछि पार्दै यो रिसोर्टले सेवा गुणस्तर, मौलिकता, व्यवस्थापन र भौगोलिक विशेषताका आधारमा पहिलो स्थान पाएको हो।

सूचीमा रुवान्डाको सिंगिता क्विटोन्डा लज दोस्रो, स्कटल्याण्डको होप लज तेस्रो, जापानको पार्क हयात टोकियो चौथो र भारतको शक्ति प्राण पाँचौँ स्थानमा रहेका छन्।

कालीगण्डकी नदीको तटमा करिब २ हजार ८ सय मिटर उचाइमा रहेको शिन्तामणि मुस्ताङलाई प्रसिद्ध डिजाइनर बिल बेन्स्लीले डिजाइन गरेका हुन्। हिमाली शैलीमा निर्माण गरिएको यो रिसोर्टमा २९ वटा विलासी सुइट रहेका छन्।

यो सम्मानले नेपाललाई साहसिक पर्यटनसँगै विश्वस्तरीय विलासी पर्यटनको गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाएको छ।