काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा १० साउनमा भएको घटना र त्यसपछि पूर्वी नेपालका केही जिल्लामा देखिएको तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन र धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।
सरकारले घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइएको जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको र समितिले काम सुरु गरिसकेको विज्ञप्तिमा उल्लेख छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा दोषी देखिएकामाथि कडा कानुनी कारबाही गर्ने सरकारको प्रतिबद्धता रहेको विज्ञप्तिमा जनाइएको छ। समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट नभई संवाद र कानुनी प्रक्रियाबाट खोजिनुपर्ने सरकारको भनाइ छ।
सरकारले धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गर्दै धार्मिक तथा साम्प्रदायिक सहिष्णुतामा असर पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन अपिल गरेको छ।
त्यस्तै, उत्तेजना फैलाउने वा भ्रामक सूचना प्रसारण नगर्न र त्यस्ता सूचनाबाट प्रभावित नभई संयमता अपनाउन पनि सरकारले आग्रह गरेको छ। देशमा शान्ति सुव्यवस्था तथा सामाजिक र धार्मिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, सञ्चारमाध्यम र आम नागरिकको सहयोग आवश्यक रहेको सरकारले जनाएको छ।
