काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२६ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नागरिकहरूको एक समूहले संविधानविरुद्ध हुने कुनै पनि षड्यन्त्र स्वीकार्य नहुने बताएको छ। समूहले एक अपिल जारी गर्दै ऐतिहासिक जनआन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभाबाट बनेको संविधानको विरुद्धमा हुने कुनै पनि षड्यन्त्र नेपाली नागरिकलाई स्वीकार्य नहुने जनाएको हो।

‘अहिले, प्रधानमन्त्रीले राजीनामा दिए पनि अर्को प्रधानमन्त्री नियुक्त नभएको कारण देश सरकारविहीन र राजनीतिक रिक्तताको घडीबाट गुज्रिरहेको छ। त्यसैले अब विलम्ब नगरी नेपालको संविधानका पालक र संरक्षकसमेत रहनुभएका सम्माननीय राष्ट्रपतिले अहिलेको संकट र रिक्ततापूर्ण अवस्थालाई निष्कर्षतिर लैजाने पहल र नेतृत्व गर्न आवश्यक भएको छ’ अपिलमा भनिएको छ।

यस समूहले राजनीतिक निकासका लागि गरिने संवाद सेनाको जंगीअड्डामा नभई राष्ट्रपति कार्यालयमा गर्न र समग्र राजनीतिक, संवैधानिक र संक्रमणकालीन व्यवस्थाका बारेमा राष्ट्रपतिजीले अविलम्ब जनताका नाममा सम्बोधन गरी प्रक्रिया अगाडि बढाउन पनि आग्रह गरेको छ।

‘हामी राष्ट्रपति, आन्दोलनकारी जेन–जी समूह, राजनीतिक दलका साथै नागरिक समाज र बौद्धिक समुदायलाई स्मरण गराउन चाहन्छौं कि सार्वभौम संसद् जीवित छ। साथै, अहिलेको असाधारण र विशिष्ट परिस्थितिमा हुने सहमतिलाई संसद्‌मार्फत अनुमोदन गराएर ताजा जनादेशका लागि जनतामा जानु नै सबैभन्दा उपयुक्त, लोकतान्त्रिक, संवैधानिक बाटो हो भन्ने कुरा पनि हामी स्मरण गराउन चाहन्छौं’, उनीहरूले भनेका छन्, ‘तर संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूको असफल नेतृत्व परिवर्तन गरी आफूलाई सुधार, पुनर्संरचना र रूपान्तरण गर्नु अपरिहार्य भएको वास्तविकता पनि हामी स्मरण गराउन चाहन्छौं।’

भदौ २३ गतेको जेन-जीको शान्तिपूर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग भएको र ठूलो जनधनको क्षति भएको भन्दै यस समूहले सरकारको अलोकतान्त्रिक, बर्बर र दमनकारी प्रवृत्तिको निन्दा पनि गरेको छ। यस घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न पनि उनीहरूले माग गरेका छन्।

‘हामी सबैलाई थाहा छ कि अवान्छित स्वार्थ समूहको घुसपैठका कारणले आन्दोलन दुर्भाग्यपूर्ण रूपमा हिंसात्मक तथा ध्वंसात्मक हुन पुग्यो’, अपिलमा उल्लेख छ, ‘संसद् भवन, सिंहदरबार, सितलनिवास, सर्वोच्च अदालतलगायत राज्यका लोकतान्त्रिक संस्था, सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक धरोहरहरूसमेत तोडफोड गरियो र जलाइयो।’

यी सबै आन्दोलनको भावना र माग विपरीतका अराजक, अमानवीय र उच्छृंखल कार्यहरू भएकाले यिनको भर्त्सनासमेत उनीहरूले गरेका छन्। ‘यस्तो संकटको घडीमा संयम हुन र लोकतन्त्र, संविधान तथा मानवअधिकारको रक्षा र सम्मान गर्न सबैमा हार्दिक अपिल गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

अनुप सुवेदी, अरुण जोशी, इन्द्र अधिकारी, उद्धव प्याकुरेल, कन्चन झा, केशव दाहाल, कोमल भट्टराई, कृष्ण पौडेल, खगेन्द्र संग्रौला, गेजा शर्मा वाग्ले, घिमिरे युवराज, झलक सुवेदी, दिपेश घिमिरे, निरज भारी, मुमाराम खनाल, रामराज रेग्मी, सञ्जीव सतगैया, सुरेश ढकाल, विनोद विक्रम केसी र युग पाठकले संयुक्तरूपमा यो अपिल जारी गरेका हुन्।