सिनेमा
म सामाजिक सञ्जालमा कहिलेकाहीँ आफूलाई मन परेका सिनेमा सिफारिस गर्छु। यसपटक भने मलाई इन्स्टाग्राममा पर्फेक्ट डेज हेर्ने सिफारिस आयो।
मलाई कुनै पनि फिल्म सुरु गर्नुअघि गुगल गरेर त्यसको वानलाइन प्लट पढ्नुपर्छ, नत्र फिल्म हेर्न बस्दा के नपुगे नपुगेजस्तो भइदिन्छ। वानलाइन प्लटले मलाई फिल्म हेर्न ‘इमोस्नल्ली रेडी’ बनाउँछ।
पर्फेक्ट डेज ड्रामा–न्यारेटिभ जनराको फिल्म रहेछ। जापानको टोकियो सहरमा बस्ने एक जना ट्वाइलेट क्लिनरको दैनिक गतिविधि नै फिल्मको कथा हो।
मलाई पर्फेक्ट भन्नासाथ दुइटा कुरा याद आउँछ, एउटा आफ्नै र अर्को लुई रिडको गीत पर्फेक्ट डेज। कहिलेकाहीँ कसैका बारेमा केही नसोची बल्ल बल्ल उपलब्ध हुने ‘मी टाइम’का बेला म यस्ता कुरा सोच्ने गर्छु-
सामान्यतया हामीलाई केही खेल खेल्दा तुरुन्तको तुरुन्त नतिजा चाहिन्छ। यिनीहरू एउटै खेल हप्ता दिनसम्म खेलिरहन्छन्। मजस्तो अधैर्य मान्छेलाई यो सानो कुराले पनि धैर्यको पाठ सिकाइदियो।
‘खासमा के गर्दा मलाई धेरै खुसी मिल्छ? म के बनेँ भने, या मैले के गरेँ भने मेरो जीवन वर्तमान अस्तव्यस्तताबाट टाढा हुन्छ होला? के साधारण जीवन ज्यूँन नै अहिलेको समयमा असाधारण हो त? कतै हामीले आफ्ना सपनाहरूलाई चाहिनेभन्दा ठूलो बनाएको त होइन? हामीले आफ्नो गन्तव्यलाई चाहिनेभन्दा टाढा पुर्याएको त होइन? हामीले संसारलाई या संसारले हामीलाई दुरुपयोग गरेको त होइन?’
यस्तै यस्तै… ।
पर्फेक्ट डेजले मेरा यी प्रश्नहरूको अलिकति भए पनि जवाफ दियो।
कस्तो सिनेमा हेर्ने भन्ने कुरा मान्छे कस्तो अवस्थाबाट गुज्रिरहेको छ, त्यसले धेरै फरक पार्छ। मैले यो सिनेमा आफ्नो करिअरलाई कता लैजाने भनेर द्विविधा परिरहेका बेला हेरेँ र मलाई यसले मद्दत गर्यो।
हीरायामा ‘द टोकियो ट्वाइलेट’मा क्लिनरको काम गर्छ। बिहानै उठ्छ। उठ्नका लागि उसलाई अलार्म क्लक चाहिँदैन। सडक बढार्दा आउने खरेटोको आवाज सुनेरै ऊ उठ्न अभ्यस्त भइसकेको छ। बिरुवाहरूमा पानी हालेर र नीलो युनिफर्म लगाइ (जसमा टोकियो ट्वाइलेट लेखिएको हुन्छ) जब ऊ घरबाट बाहिर निस्किन्छ, ढोकैमा पुगेर ऊ आकाश हेरेर मीठो मुस्कान छर्छ।
यो दृश्य आइसकेपछि म एकछिन पज गर्छु। काममा जानेहरूमध्ये हामी त्यसरी मुस्कुराउँछौं त? म त घरबाट निक्लिनुअघि बाटोको हिलो, धूलो, धूवाँ, ट्राफिक जाम, अफिसको माहोल आदि सम्झेर मुस्कुराउनुको साटो दुःखी पो हुन्छु।
नीलो भ्यानमा चढ्नासाथ आफूलाई मन पर्ने संगीत बजाउनु र टोकियोको पब्लिक ट्वाइलेटहरू डिप क्लिनङ गर्नु, लन्च खाने ठाउँमा बसेर ठूल्ठूला रूखका हल्लिरहेका पातहरू हेरेर आफ्नो क्यामेरामा कैद गर्नु, वरिपरि जो देखे पनि मुस्कुराउनु, त्यसपछि कामबाट फर्किनु, पब्लिक बाथमा गएर नुहाउनु र एउटै रेस्टुराँमा गएर डिनर गर्नु, घर आउनु एकछिन पढ्नु र सुत्नु… अनि भोलिपल्ट बिहान सबेरै उठ्नु र फेरि उस्तै दिन दोहोर्याउनु, सिनेमामा यत्ति नै कुरा देखाइन्छ। र, हीरायामाको जिन्दगी पनि यत्ति हो।

ट्वाइलेट सफा गर्ने क्रममा हीरायामाले एक दिन ट्वाइलेटकै एउटा चेपमा कागज देख्छ। खोलेर हेर्दा त्यहाँ आलु प्लस खेल्न दुईवटा ठाडा धर्कालाई दुईवटा तेर्सो धर्काले काटिएको हुन्छ। कोही अपरिचितले त्यसमा आलुले बीचको एउटामात्रै कोठा भरिदिएको हुन्छ। र, त्यसमा हीरायामाले आफ्नो साइडबाट प्लस अर्को कोठामा भरिदिन्छ र उही चेपमा राखिदिन्छ। अर्को पक्षले, अर्को दिन अर्को कोठा भरेर त्यो चेपमा राखिदिन्छ। यस्तै सिलसिला चलिरहन्छ।
हामी साथीहरू कतै कन्फरेन्स मिटिङतिर हुँदा कागज र कलम पाउनासाथ यस्तै आलु प्लसको खेल खेलिहाल्छौं, जसले मलाई सिनेमाको त्यो दृश्यसित जोडिदियो।
त्यो दृश्यले मलाई दुइटा कुरा सोच्ने बनायो। सामान्यतया हामीलाई केही खेल खेल्दा तुरुन्तको तुरुन्त नतिजा चाहिन्छ। यिनीहरू एउटै खेल हप्ता दिनसम्म खेलिरहन्छन्। मजस्तो अधैर्य मान्छेलाई यो सानो कुराले पनि धैर्यको पाठ सिकाइदियो।
६ दिनसम्मको यस्तै जिन्दगी जिएपछि हीरायामाको विकेन्ड अलिक फरक तरिकाले बित्छ। ऊ त्यसदिन केही अबेर उठ्छ। कुनै हतार गर्दैन। ऊ लुगाहरू जम्मा गर्छ र सुरुमा स्राइनमा जान्छ। अनि ती लुगाहरू लाउन्ड्रीमा धुन लैजान्छ। त्यो दिन भ्यानको सट्टा ऊ साइकल लिएर निस्किन्छ। सेकेन्ड ह्यान्ड बुकसप जान्छ र किताब किन्छ। एउटा बारमा केही समय बिताउँछ। घर आएर आफूले खिचेका फोटोहरूमध्ये छान्ने काम गर्छ र उसलाई मन परेका स्टोर गर्छ। उसले जे गर्छ, आफ्ना लागि गर्छ। मजस्तो केही राम्रो फोटो खिच्नासाथ, केही उपलब्धि हुनासाथ सामाजिक सञ्जालमा पोस्ट गरेर देखाइहाल्ने हतार भएकालाई उसको आफ्ना लागि मात्र गर्ने दर्शनले झस्काएर जान्छ।
एकदिन अचानक हीरायामाको भान्जी निको आफ्नो आमासित ठाकठुक परेर उसको घर आउँछे। दुई दिन हीरायामासँगै बिताउँछे। उसको काममा जान्छे, उसलाई काममा सहयोग पनि गर्छे। रुखहरूको फोटो निकोले पनि खिच्छे। उनीहरू सँगै बसेर स्यान्डविच खान्छन्। साइकल चलाएर घुम्न जान्छन्। हाँस्छन्। गफ गर्छन्। यहाँनेर आइपुगेपछि थाहा हुन्छ, हीरायामा त्यसरी खुलेर हाँस्दो पनि रहेछ, खुलेर बोल्दो पनि रहेछ। निको आफ्नो आरामदायी जीवनबाट भागेर मामासँगको साधारण जीवनमा यसरी घुलमिल हुन्छे, लाग्छ खासमा विशेष त साधारण नै हुँदोरहेछ। यसैबीचमा उनीहरूको बीचमा केही संवाद हुन्छ।
हीरायामाले भान्जीलाई भन्छ, “नाउ इज नाउ, नेक्स्ट टाइम इज नेक्स्ट टाइम।”
भान्जीले पनि त्यही वाक्य दोहोर्याउँछे। क्लिसे नै सुनिए पनि हामीले आजलाई बाँच्न त बिर्सेकै हो।
निकोकी आमा आफ्नी छोरीलाई लिन आउँदा हीरायामालाई मनपर्ने चकलेट लिएर आउँछे र उसको कामलाई लिएर प्रश्न गर्छे। छुट्टिने बेलामा हीरायामाले आफ्नी बहिनी र भान्जीलाई अंकमाल गर्छ र उनीहरू गइसकेपछि धुरुधुरु रुन्छ। यो सिनेमाको सबैभन्दा भावुक दृश्य हो।
सिनेमामा अर्को धेरै प्रयोग भएको छायाहरूको खेल र छायासँग खेल्ने खेल। हीरायामाको छायाप्रतिको मोह धेरै दृश्यमा देखिन्छ, जसले सिनेमाको कला पक्षको गहिराइलाई इंगित गर्छ।
उसको जिन्दगी फेरि उसै गरी चल्छ, जसरी उसको भ्यानमा संगीत चल्छ। हीरायामा र अर्को पात्र तोमोयामाले आफ्नो छायाहरूसित खेलेको र त्यहाँ भएका संवादहरू यो सिनेमाको अर्को बलियो पक्ष हो।
कोमोरेभी ओरिजिनल टाइटल अफ द फिल्म, जसको माने हुन्छ- पातहरूबाट छानिएर आएको घामको किरण।
सतह र उचाइमा के फरक हुन्छ? यदि अहिलेको समय सतहमै रमाउँछु भन्नु स्वाभाविक हो कि होइन होला? उचाइमा पुग्ने इच्छा जो-कोहीको पूरा हुन्छ त? हामीलाई थाहा छ, चुचुरोमा अडिने ठाउँ पनि त धेरै हुँदैन। हुन त सबैको चुचुरो एउटै पनि हुँदैन। कसैलाई डाँडासम्मै पुग्नु ठूलो होला, कसैलाई एभरेस्ट पुग्नु पनि सामान्य होला।
सिनेमामा टोकियोको स्काइ ट्री पनि हामी पटक-पटक देख्न पाउँछौं। हीरायामाको घर र टोकियोको स्काइ ट्री एउटै फ्रेममा अटाउनु, उसले भ्यान चलाउँदा पनि पटक-पटक स्काइ ट्री देखाउनु कतै सतह र उचाइको चुपचाप तुलना हो कि झैँ लाग्छ।
हीरायामाले ठूलो मेपलको रुखमुनि उम्रेको सानो बिरुवालाई उखेलेर आफ्नो घरमा लगेर गमलामा रोप्छ। ठूलो रुखको फेदमा उम्रेको सानो बिरुवाको भविष्य खासै नहुने देखेर उसले त्यसलाई आफ्नो गमलामा सारेको हुन सक्छ।
७० को दशकको संगीत सुन्नु, त्यो पनि क्यासेट प्लेयरमा, स्पोटिफाइ भनेको कुन ठाउँ हो भन्नु र मोबाइल खाली फोन उठाउनलाई मात्रै प्रयोग गर्नुले उसको व्यक्तित्वलाई दर्शाउँछ।

सिनेमामा अलिक चित्त नबुझेको भनेको यसको लम्बाइ हो। निको गएपछि सिनेमा सकाएको भए, यो अझै राम्रो हुने थियो कि?
विम विन्डर्स र ताकुमा ताकासाकीद्वारा लेखिएको यो सिनेमा विम विन्डर्सले निर्देशन गरेका हुन्। ७६ औं कान फिल्म फेस्टिभलमा यसका प्रमुख पात्र कोजी याकुसुले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए। यो पहिलो जापानी सिनेमा हो (यद्यपि यसको निर्देशक जर्मन हुन्) जो एकेडमी अवार्डमा उत्कृष्ट अन्तर्राष्ट्रिय सिनेमा विधामा मनोनीत भएको थियो।
हीरायामाको चरित्र निर्वाह गरेका कोजी याकुसुले यस्तो अभिनय गरेका छन्, लाग्छ अभिनय नगरेर त्यो जीवनै जिएका छन्।
त्यसै गरी सिनेमामा अर्को धेरै प्रयोग भएको छायाहरूको खेल र छायासँग खेल्ने खेल। हीरायामाको छायाप्रतिको मोह धेरै दृश्यमा देखिन्छ, जसले सिनेमाको कला पक्षको गहिराइलाई इंगित गर्छ।
संवादभन्दा दृश्यमा धेरै बोल्ने पर्फेक्ट डेज सिनेमेटिकली पनि पर्फेक्ट छ। पात्रहहरूको बेजोड अभिनय र बेजोड निर्देशनले यसलाई मीठो दृश्य साहित्य बनाइदिएको छ। सिनेमाको अर्को राम्रो पक्ष भनेको हीरायामा सुतिसकेपछि आउने कल्याङबल्याङ सपनाहरूको शृङ्खला हो, जसमा उसको त्यो दिनभरिका सबै कुरा समावेश हुन्छन्। ती यति वास्तविक लाग्छन् कि विम विन्डर्स आएर मेरो पनि सपनाहरूको त्यसैगरी रेकर्ड गर्दिऊन्।
पर्फेक्ट डेज हेर्दा सामान्य सिनेमा हेरेजस्तो लाग्छ, तर यसले पार्ने प्रभाव असामान्य छ। त्यसैले, कसैले मलाई तिम्रो कम्फर्ट मुभी कुन हो भनेर सोधे म भन्नेछु, पर्फेक्ट डेज!