काठमाडौं। भारतीय विदेश सचिव विक्रम मिश्रीले शुक्रबार युरोपेली सङ्घ (इयू)को राजनीतिक तथा सुरक्षा समिति (पिएससी)का अध्यक्ष डेल्फिन प्रोन्क नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन्।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार भेटवार्तामा भारत–इयू रणनीतिक साझेदारी अन्तर्गत सुरक्षा र रक्षा सहयोगलाई अझ गहिरो बनाउने विषयमा छलफल भएको छ। छलफलमा नवीनतम क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रममा विचारहरूको आदान–प्रदान पनि गरिएको छ।
यसअघि बिहीबार प्रोन्क नेतृत्वको प्रतिनिधिमण्डलले रक्षा सचिव राजेशकुमार सिंहसँग पनि भेट गरी क्षमता विकास, क्षमता वृद्धि र उदीयमान सुरक्षा चुनौतीमा केन्द्रित छलफल गरेको थियो। प्रतिनिधिमण्डललाई हिन्द महासागर क्षेत्रमा सूचना फ्यूजन केन्द्र (IFC–IOR) को बारेमा जानकारी पनि गराइएको छ।
प्रोन्कले छलफलको अवसरमा भारतीय प्रतिनिधिमण्डललाई धन्यवाद दिएका छन् र इयू–भारतलाई प्राकृतिक साझेदार भएको उल्लेख गरेका छन्।
यसैबीच, युरोपेली सङ्घ र भारतले आतंकवाद विरुद्ध संयुक्त कार्यदलको १५ औँ बैठक बुधबार ब्रसेल्समा आयोजना गरेका थिए। बैठकमा सन् २०२५ अप्रिलमा पहलगाममा भएको जघन्य आतंकवादी हमलाको निन्दा गर्दै निर्दोष नागरिकप्रति इयूले आफ्नो समवेदना व्यक्त गरेको छ।