काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

त्यो काण्ड

२०४४ सालमा हङकङबाट नेपाल फर्किरहेको शानेवानिको बोइङ ७२७ विमान इन्धन भर्न कोलकाता अवतरण गर्दा भारतीय प्रहरीको नियन्त्रणमा

१४ चैत्र २०८२
कोलकाताको पुरानो विमानस्थल, नेपाल वायुसेवा निगमको वोइङ ७२७। तस्बिर : सामाजिक सञ्जाल
अ+
अ-

३० कात्तिक २०४४, भारतस्थित कोलकाताको डमडम विमानस्थल। जहाँ नेपालको बोइङ ७२७ जहाज इन्धन भर्न सोमबार बिहान १० बजेर ५३ मिनेटमा अवतरण गरेको थियो। त्यति नै बेला भन्सार विभागका सुरक्षाकर्मीले तत्कालीन शाही नेपाल वायुसेवा निगम (शानेवानि)को विमानलाई चारैतिरबाट घेर्छन् र पूर्वसूचनाविना जबरजस्ती विमानभित्र प्रवेश गरेर चेकजाँच गर्न थाल्छन्।

शानेवानिको बोइङ ७२७ जहाज हङकङबाट ब्रिटिस गोर्खामा कार्यरत ७८ यात्रु बोकेर नेपाल फर्किंदै थियो। त्यो विमान ब्रिटिस गोर्खामा कार्यरत गोर्खालीहरूले चार्टर्ड गरेका थिए भने लामो समयपछि उनीहरू आफ्नो देश फर्किंदै थिए। तर, आफ्नो देशको जमिन टेक्न नपाउँदै सरोकार नै नभएको भारतीय सुरक्षाकर्मीले इन्धन भर्न अवतरण गरेको विमानलाई अप्रत्याशित नियन्त्रणमा लिए। खानतलासी गर्न थालेपछि विमानमा सवार गोर्खा सैनिक मात्र होइन, विमान चालक पनि रिसले आगो भए।

त्यो घटना सम्झिँदा अहिले पनि उत्तेजित हुने शानेवानिका पूर्वक्याप्टेन डीआर (दधिराम) निरौला भन्छन्, “हाम्रो क्रु मेम्बरहरूले धेरै सम्झाउन खोजेका थिए, यो तिमीहरूको क्षेत्राधिकारभित्र पर्दैन भनेर। तर, उनीहरूले हाम्रो कुरा सुन्दै सुनेनन्।”

नेपाली विमानलाई डमडम विमानस्थलमा १७ घण्टा रोकेर राखियो। विमानको चप्पा चप्पाको जाँच गरेपछि २० केजी सुन बोकेर भारतीय कस्टम विभागका पदाधिकारी बाहिरिए।

त्यो दिन नेपाली विमानलाई डमडम विमानस्थलमा १७ घण्टा रोकेर राखियो। विमानको चप्पा चप्पाको चेकजाँच गरेपछि २० केजी सुन बोकेर भारतीय कस्टम विभागका पदाधिकारी बाहिरिए। नेपालको सरकारी मिडिया गोरखापत्रको समाचारअनुसार बिहान करिब ११ बजे आफ्नो नियन्त्रणमा राखेको बोइङ ७२७ जहाजलाई भारतीय पक्षले मंगलबार बिहान ४ बजे मात्र छोडेको थियो।

त्यतिबेला नेपालमा यात्रुहरूको आफन्तको घरमा खैलाबैला मच्चियो। घटनाको विषयमा शानेवानिले ४ मंसिर २०४४ मा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘हङकङ-काठमाडौँ उडानका लागि ब्रिटिस गोर्खाले चार्टर गरेको शाही नेपाल वायुसेवा निगमको बोइङ ७२७ विमान सदाझैँ कलकत्तामा इन्धन भर्न उत्रँदा गत सोमबार त्यहाँको भन्सार कार्यालयले खानतलासी गर्दै १७ घण्टा रोकिन बाध्य हुँदा यात्रुहरू र निजका आफन्तहरूलाई परेको मानसिक पीडा एवं असुविधाप्रति शाही नेपाल वायुसेवा निगम सहानुभूति व्यक्त गर्दछ।’

यही विज्ञप्तिमार्फत निगमले असुविधाका लागि भनेर विमानमा सवार सबै यात्रुहरूलाई जनही पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। यस्तै, उडान कर्मचारीले देखाएको संयम र कार्यतत्परताको उच्च मूल्यांकन गर्दै उनीहरूलाई पनि पाँच हजार रुपैयाँबाट सम्मान गर्‍यो।

नेपालको विमान इतिहासमा सबैभन्दा बदनामपूर्ण मानिने यो घटना ‘बोइङ ७२७ सुन काण्ड’ का रूपमा अहिले पनि चित्रित छ। त्यतिबेला भारतीय पक्षको दाबी थियो– आफ्नो देशमा सुन तस्करीका लागि नेपाली विमान प्रयोग भइरहेको छ।

घटनाको विषयमा आउँदो भदौमा ८० वर्ष पूरा गर्न लागेका शानेवानिका पूर्वक्याप्टेन निरौला भन्छन्, “त्यतिबेला विदेशबाट काठमाडौँ अवतरण गर्नुअघि कोलकातामा तेल भर्ने नियम जस्तै भइसकेको थियो। यसका लागि निगमले पहिलेदेखि अनुमति पनि लिएको थियो। यसैको फाइदा उनीहरूले उठाए।”

भारतीय पक्षको भनाइ थियो– हङकङबाट कोलकाता आउने विमानमा सुन तस्करी भइरहेको सूचना इन्टरपोलमार्फत प्राप्त भएको थियो। यसैको आधारमा खानतलासीका लागि विमानलाई नियन्त्रणमा लिनुपरेको हो।

क्याप्टेन डिआर निरौला। तस्बिर : बिक्रम राई

तर, सबै यात्रु विमानमै बसिरहेको र इन्धन भर्न मात्र विमान रोकिएको अवस्थामा चेकजाँच गर्नु अन्तर्राष्ट्रिय नियमको उल्लंघन रहेको पूर्वक्याप्टेन निरौला बताउँछन्। भन्छन्, “तर, उनीहरूले नेपाली पक्षको कुरा सुन्ने चेष्टा गरेनन्।”

यस घटनाले शानेवानिको इज्जतमा ठूलो धक्का लाग्यो। “त्यतिबेला म त्रिभुवन विमानस्थलको इमिग्रेसन इन्चार्ज थिएँ। त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन्छ भन्ने त पहिलेदेखि नै थाहा थियो। तर, विदेशीभूमिमै सुन तस्करीको मुद्दामा नेपाली विमानलाई रोकेर राखिएको सम्भवत: त्यो पहिलो घटना थियो। यसले विश्वभरि नकारात्मक प्रचार भयो,” नेपाल प्रहरीका पूर्वएआईजी रविराज थापा भन्छन्।

नेपालमा त्यतिबेला सुन तस्करी निकै मौलाएको थियो। सरकारी तथ्यांकअनुसार २०४१/४२ को सुरुदेखि २०४४/४५ को जेठ मसान्तसम्म एक हजार ४०० किलो सुन बरामद गरी नेपाल राष्ट्र बैंकमा दाखिला भइसकेको थियो। आर्थिक वर्ष २०४३/४४ मा मात्र ३५९ केजी सुन बरामद भएको सरकारी तथ्यांकमा उल्लेख छ।

२०४४ सालमा सुन तस्करीकै मुद्दामा कोस्टारिकाका राजदूत ३३ केजी सुनसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए। राजदूत भएका कारण उनलाई कारबाही त भएन, तर उनले ल्याएको सुन जफत भयो।

कुलबहादुर लिम्बू। तस्बिर : युट्युब

२७ जेठ २०४४ सालमै गोर्खा राइफल्सको अर्को चार्टर्ड विमानमार्फत ल्याइएको १९५ केजी सुन (१० करोड रुपैयाँ बराबर) पनि त्रिभुवन विमानस्थलमा पक्राउ पर्‍यो। त्यतिबेला गोर्खा राइफल्ससँग सम्बन्धित इन्द्रबहादुर गुरुङ, लोपसाङ लामा र मीनबहादुर गुरुङलगायत लोडरहरू वासुदेव गौतम, विष्णु श्रेष्ठ, कृष्ण थापा, श्याम लामा र कृष्ण पुडासैनी गिरफ्तार परेका थिए।

यो समय ७५ प्रतिशत सुन हङकङको बाटो हुँदै नेपाल भित्रिन्थ्यो। भारतीय नागरिक वेदप्रकाश कन्डोई पनि हङकङबाट नौ किलो ३०० ग्राम सुन भित्र्याउँदै गरेको अवस्थामा त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए। स्विडिस नागरिक टोम्यास क्रिसेकलाई पनि नौ केजी सुन तस्करी मामिलामा समातिएको थियो। काठमाडौँ जिल्ला अदालतले यी दुवैको मुद्दामा एक एक वर्षको जेल सजाय र बिगो नबुझाएको खण्डमा थप चार चार वर्ष कैदमा राख्न आदेश दिएको थियो।

लामो समय बेलायती सेनामा काम गरेर ३० कात्तिकमा काठमाडौँ फर्किंदै गरेका नेपालीहरूले मनग्य सुन बोकेका थिए। तर, कोलकाताको भन्सार विभागका प्रहरीहरूले तस्करीको आरोपमा ती सबै सुन बटुलेर लगे।

त्रिभुवन विमानस्थलमा त्यतिबेला सामान जाँचका लागि चार वटा एक्सरे मेसिन र दुई वटा मेटल डिटेक्टर उपलब्ध थिए। तर, तीमध्ये दुई वटा एक्सरे मेसिन लामो समयदेखि बिग्रिएको अवस्थामा पनि सम्बन्धित निकायले वास्ता गरेको थिएन। भन्सार अधिकृत दीप बस्नेत हाकाहाकी भन्ने गर्थे, ‘नजर-अन्दाजबाट धेरै तस्कर समाउँछौँ।’

त्यतिबेला कानुनी रूपमा मासिक २५-३० केजी बराबर सुन त्रिभुवन विमानस्थलबाट भित्रिने गर्थ्यो। ब्रिटिस गोर्खालगायत लाहुर जानेहरूले विदेशी मुद्रा कम र सुन ज्यादा ल्याउने चलन थियो। झिटीगुन्टा नियमअन्तर्गत एक जनाले तीन तोलासम्म सुन ल्याउन पाउने प्रावधानअनुसार तस्करहरू हङकङबाट नेपाल फर्किने व्यक्तिहरूलाई आर्थिक प्रलोभनमा पारेर सुन बोकाउँथे। प्रचलित कानुनअनुसार विदेशी मुद्रा आर्जन गरेको प्रमाण पेस गर्न सके प्रमाण पेस गरेजति रकमबाट सुन ल्याउन पाउने प्रावधान थियो।

यही नियमअनुसार लामो समय बेलायती सेनामा काम गरेर ३० कात्तिकमा काठमाडौँ फर्किंदै गरेका नेपालीहरूले मनग्य सुन बोकेका थिए। तर, कोलकाताको भन्सार विभागका प्रहरीहरूले तस्करीको आरोपमा ती सबै सुन बटुलेर लगे।

रविराज थापा। तस्बिर : बिक्रम राई

यस घटनाले नेपाल र भारतबीचको सम्बन्धमा थप कटुता उत्पन्न भयो। “हाम्रो कुल राष्ट्रिय आयमा शानेवानिको योगदान एक चौथाइ थियो। आतिथ्य सत्कारदेखि सुलभताको हिसाबले विदेशीहरू भारतको भन्दा हाम्रो विमान चढ्न रुचाउँथे। त्यसैले त्यो घटना अलिक प्रायोजित थियो कि जस्तो पनि लाग्छ,” नेपाल वायुसेवा निगमका पूर्वकप्तान कुलबहादुर (केबी) लिम्बू भन्छन्।

कोलकातामा यो घटना हुँदा नेपाल र भारतबीचको सम्बन्धमा केही तिक्तता आइसकेको थियो भने पारवहन सम्झौतालाई लिएर भारत सरकारले निहुँ खोजिरहेको अवस्था थियो।

नेपाली यात्रुको सुन कोलकोताको भन्सार विभागले नियन्त्रणमा लिएपछि नेपाल सरकारले पनि तत्कालै तदारुकता देखायो। यसै सन्दर्भमा ३ मंसिरमा निगमको एक टोली जाँचबुझका लागि कोलकातातर्फ लागेको थियो।

भारतीय पक्षले बलजफ्ती विमानमा प्रवेश र खानतलासी गर्दासमेत शानेवानिले प्रतिकार गर्न नसकेको र नेपालको ध्वजावाहक विमानलाई तस्करी गर्ने माध्यमका रूपमा विश्वसमक्ष चित्रण गर्ने प्रयास भएको भन्दै धेरैले असन्तुष्टि पोखे।

“म भर्खरै शानेवानिमा ज्वाइन भएको थिएँ। हाकिमहरू कोलकाता गएर कुरा मिलाएर आएको भन्थे,” नेपाल वायुसेवा निगम (नेवानी)का पूर्वकार्यकारी अध्यक्ष मदन खरेल भन्छन्। नेपाली पदाधिकारीले त्यतिबेला कुरा मिलिसकेको बताए पनि पछि कोलकाता भन्सारले शानेवानिविरुद्ध सुन तस्करीको आरोपमा उच्च अदालत, कोलकातामै मुद्दा दायर गर्‍यो।

यो घटना सबैलाई चकित पार्ने खालको थियो। वैशाख २०४५ मा दायर मुद्दामा यात्रु र पाइलटबाहेक स्टेसन इन्चार्जलाई उपस्थित हुन आदेश दिइएको थियो। भारतीय पक्षले मुद्दा दायर गरेपछि नेपालमा शानेवानिको तत्कालीन नेतृत्वविरुद्ध असन्तोष पैदा भयो। भारतीय पक्षले बलजफ्ती विमानमा प्रवेश र खानतलासी गर्दासमेत शानेवानिले प्रतिकार गर्न नसकेको र नेपालको ध्वजावाहक विमानलाई तस्करी गर्ने माध्यमका रूपमा विश्वसमक्ष चित्रण गर्ने प्रयास भएको भन्दै धेरैले असन्तुष्टि पोखे।

“यसमा भारतीय पक्षको मतलबको कुरै थिएन। केही व्यक्ति मिलेर तस्करी गरेको हो भने पनि शानेवानिलाई मुद्दा हाल्नुपर्ने कुनै कारण थिएन। यो अलिक प्रायोजित नै देखियो,” लिम्बू भन्छन्।

यस काण्डले नेपाल र भारतबीचको सम्बन्धलाई मात्र होइन, नेपालको आन्तरिक राजनीतिबारे पनि प्रश्न उठेको थियो। त्यतिबेला पञ्चायती व्यवस्था आफ्नो अन्तिम समयबाट गुज्रिरहेको थियो। यस काण्डले नेपाली विमानलाई ‘सुनचरी’ भनेर व्यंग्य कस्ने कामसमेत भयो।