काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

१५ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। नेपाली चलचित्र ‘पाँच पाण्डव’ को यतिबेला झापामा धमाधम छायांकन भइरहेको छ। निर्माण पक्षले चलचित्रको कलाकार टोलीमा थप दुई पात्र भित्र्याएको छ।

काली रानी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरीको प्रवेश भएको हो।

छायांकनको १४औँ दिनमा उनीहरू सेटमा जोडिएसँगै चलचित्रको क्यानभास अझ फराकिलो बनेको निर्देशक वसन्त निरौलाले जानकारी दिए।

चलचित्रका मुख्य ‘पाँच पाण्डव’ को भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) छन्। यी पाँच पात्रलाई केन्द्रमा राखेर बुनिएको कथामा महिला मुख्य पात्रका रूपमा दीपाश्री निरौला र जनी गुरुङ देखिनेछन्।

चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै पौराणिक वा धार्मिक कथा नभई पूर्ण रूपमा ‘सोसल ड्रामा’ (सामाजिक कथा) भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन्। चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।

चलचित्रको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन्। ४० दिनको छायांकन तालिका तय गरिएको यस चलचित्रको अधिकांश दृश्य झापाका रमणीय स्थानमा खिचिनेछ। चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलको छ।