सिनेमा
समाज होस् वा घरमा ‘अनफिट’ हुनु पनि आखिर सेप न ढेपको ममजस्तै हुनु त हो।
आख्यान वा सिनेमामा काल्पनिक कुराभन्दा सर्जकको आफ्नै अनुभव-भोगाइबाट जन्मिएका कथा-कहानी बढी जीवन्त र विश्वसनीय हुने एउटा बलियो धारणा छ। त्रिवेणी राईको सेप अफ मम यस्तै सिनेमा हो, जहाँ निर्देशकले आफ्नै अनुभव र स्मृतिलाई कथाको मुख्य आधार बनाएकी छन्।
निर्देशक तथा सहलेखक राईले आफ्ना अन्तर्वार्तामा बताएअनुसार सेप अफ मम उनको आत्मकथा नै त होइन, तर यो उनको जीवनको धेरै नजिक छ। यसमा उनकै वरिपरिका महिलाहरूका अनुभव पनि मिसाइएको छ। सिनेमाको छायांकनसमेत उनकै गाउँमा गरिएको हो।
सिनेमामा हिमाली गाउँ सिक्किमको ग्रामीण परिवेशमा बस्ने एउटै परिवारका तीन पुस्ताका चार महिलाको दैनिक जीवनको चित्रण छ। केन्द्रीय पात्र विष्णु (गौमाया गुरुङ) दिल्लीको जागिर छोडेर सिक्किम फर्किएकी छन्। उनकी आमाको भूमिका पशुपति राईले निर्वाह गरेकी छन्, जो घरायसी कामकाज र गाउँसमाजको जिम्मेवारीबीच सन्तुलन मिलाउन अभ्यस्त हुन्छिन्। विष्णुकी हजुरआमा छोराले दुबई लैजाने आशामा बाँचिरहेकी वृद्ध हुन् भने गर्भवती जुनु (श्यामा श्री शेर्पा) श्रीमान् र सासुको नियन्त्रणबाट क्षणिक उन्मुक्ति खोज्दै माइत आएर बसेकी छन्, जो विष्णुकी बहिनी हुन्।
पुरुषविहीन घरका यी पात्र एकअर्कामा अन्तनिर्भर र समर्पित छन्। सपरिवार घाम ताप्दै गर्दा, दिदीबहिनी मिलेर मम बनाउँदै ‘कुकु कुकु’ गीत गाउँदै गर्दा वा मम खाने बेला खुलेर पादबारे कुरा गर्दै एकअर्कालाई उडाउँदाका दृश्यहरूमा पारिवारिक आत्मीय सम्बन्ध झल्किएका छन्। यसमा दिदी-बहिनी र आमा-छोरीबीचको प्रेम दर्साउने दृश्य पनि थुप्रै छन्।

सेप अफ ममका केन्द्रीय महिला पात्रबीच प्रेम मात्र नभई अन्तर्विरोध पनि प्रशस्तै छन्। जसले उनीहरूलाई यथार्थपरक बनाएको छ। हरेक पात्रको जीवनलाई उनीहरूले सामना गरेका परिस्थितिले परिभाषित गरेको छ। उनीहरू आफ्नै अपेक्षा र सम्झौताबीच सन्तुलन मिलाउन संघर्षरत देखिन्छन्।
सानातिना समस्या आँखा चिम्लेर गाउँका मुखियादेखि कामदारहरूसँग सन्तुलित व्यवहार गर्नु विष्णुकी आमाको खुबी हो। तर, विष्णु गाउँबाहिरको सोच-शैलीले आकार पाएकी आत्मनिर्भर महिला हुन्, जो आफूलाई मन नपरेका कुरा फ्याट्टै प्रतिकार गरिहाल्छिन्। उनमा घरभित्रका चालचलन र व्यवहारमा परिवर्तन ल्याउने दृढ इच्छा छ। त्यसमा उनी हस्तक्षेपसमेत गर्न खोज्छिन्।
यस क्रममा उनको घरको काममा सहयोग गर्ने केटा पदमसँग नोकझोक हुन्छ। आफ्नो सुन्तलाघारी रेखदेख गर्ने परिवारका सदस्यसँग वर्षौं पुरानो सम्बन्ध बिग्रिन्छ। जब विष्णुले आफ्नो घरनजिकै टेन्टमा बसेर रमाइलो गरिरहेका मान्छेहरूलाई प्रहरी बोलाएर पक्राउँछिन्, उनको यस कदमले छिमेकदेखि पञ्चायतसम्मलाई चिढ्याउँछ। विष्णुको प्रगतिशील विचारले समाधानको साटो उनकी आमाले वर्षौंदेखि छरछिमेक र समुदायबीच जोगाइराखेको सामाजिक सन्तुलन खलबलिन्छ। छोरीले समाधानको साटो एकपछि अर्को समस्या थप्ने काम गरेपछि उनकी आमासमेत रुष्ट बन्छिन्।
सेप अफ मम छरछिमेकको भेलामा विष्णुले मोबाइल फोनको विज्ञापनका लागि कोरेका शब्दहरू पढेर सुनाउने दृश्यबाट हुन्छ। उनको लेखाइको तारिफ गर्दा खुसी छरिएको विष्णुको अनुहार छोरामान्छेसँग गरिने आफ्नो तुलना र बिहेको कुरासँगै मलिन बन्छ।
सिनेमामा सुरुदेखि अन्त्यसम्म महिलालाई छोरा नै जन्माउन जोड दिने प्रसंग धेरै छन्। सेप अफ ममलाई छोरा जस्तै नाम दिइनुको सान्दर्भिकता त्यहीँ भेटिन्छ।
यस दृश्यले सुरुमै विष्णु र उनकी आमालाई समुदायको सदस्यका रूपमा चित्रण गरेको छ। त्यसपछिका दृश्यमा परिवार र व्यक्ति, समाज र व्यक्ति, अनि आत्मपहिचान र परम्पराबीचको द्वन्द्व अझै मिहिन ढंगले आउँछ।
फिल्ममा एउटा यस्तो पात्र छन्, जसले विष्णुको चरित्र रूपान्तरणमा निर्णायक भूमिका निर्वाह गरेका छन्। ती पात्र हुन् विष्णुको सुन्तला बगानको हेरचाह गर्ने परिवारका किशोर छोरा।
आफ्नो परिवारको समस्या नबुझी विष्णुले आफ्ना आमाबुबासँग पैसा माग्न दिएको दबाबले उनलाई आक्रोशित बनाउँछ। ती किशोरको प्रतिरोधलाई कहिले तातो चियाको भाँडो समातेको दृश्य, कहिले स्याउ र अनार लिन बहिष्कार गरेको दृश्य त कहिले सिसामा खुट्टा टेकेको दृश्यमार्फत देखाइएको छ। यस्ता हरेक घटनापछिका हरेक दृश्यमा विष्णुमा लामो मौनता छाउँछ। यस घटनाले उनको वर्गीय पूर्वाग्रहसमेत झल्काएको छ।
सेप अफ ममभित्रको यस द्वन्द्वमा पात्रहरूबीचको अन्तरनिर्भरतासमेत अटाएको छ। परिवार, समुदाय र थातथलोसँग गाँसिएको अन्तरसम्बन्धलाई पनि महत्त्वका साथ देखाइएको छ।
महिलाको निर्देशन र महिलाकै बाहुल्य भएको सेप अफ मममा पुरुषको उपस्थिति वा अनुपस्थितिमा महिलाले आफ्नो स्थान कसरी तय गर्छन् भन्ने प्रश्न पनि छ। यसलाई विष्णु र ज्ञान (राहुल मुखिया)बीचको सम्बन्धमार्फत मिहिन ढंगले चित्रण गरिएको छ। आफ्नै जग्गामा होमस्टे खोल्ने सपना बोकेकी विष्णुले आर्किटेक्ट ज्ञानलाई भेटेपछि गाउँमा भरपर्दो साथ पाएको महसुस गरेकी हुन्छिन्। तर, बिस्तारै आफू ज्ञानसँग हुँदा अरूले आफूबाट बढी अपेक्षा राखेको महसुस गर्छिन्। यो दबाब उनी झेल्न सक्दिनन्।

एकातिर आमाको असन्तुष्टि, अर्कातिर ज्ञानसँगको सम्बन्धको दुबिधाले विष्णुलाई अप्ठ्यारो मोडमा पुर्याउँछ।
आमा भन्छिन्, ‘गाउँमै बस्न झेल्नुपर्छ, सहनुपर्छ। यो तेरो दिल्ली होइन।’
विष्णु भन्छिन्, ‘झेल्दिनँ म, सहँदिनँ म।’
आमा झोक्किन्छिन्, ‘त्यसो भए घर छोडेर जा।’
के विष्णु घर छोडेर जालिन्? गाउँमै होमस्टे चलाएर बस्ने उनको सपना के होला? विष्णु र ज्ञानको सम्बन्धले कुनै अर्थ नपाउला?
जवाफ जे पनि हुन सक्छ। आखिर अन्तर्विरोध, प्रतिरोध र सम्झौताले नै जीवनलाई आकार दिन्छन्। त्यो आकार जुनुले बनाएको जस्तो चट्ट मिलेको मम जस्तो नभई विष्णुले बनाएको ‘सेप न ढेप’ को मम जस्तै पनि त हुन सक्छ। समाज होस् वा घरमा अनफिट हुनु पनि आखिर सेप न ढेपको मम जस्तै हुनु त हो।
यो कुरा विष्णुले आमालाई लेखेको चिठीका शब्दमा पनि आउँछन्– के यो अनौठो छैन? विष्णुलाई थकाउने, अल्झाउने कुराहरूले नै उनको जीवनलाई आकार दिएका छन्।

ठूला घटना र द्वन्द्वभन्दा पात्रहरूका मसिना विवरण, व्यवहार र अनुभूतिलाई चित्रण गर्ने सेप अफ ममलाई छोरा जस्तै नाम दिइएको छ। हुन त विष्णु स्वतन्त्र पात्र हुन्। उनको बिरालाको नाम नै आजादी छ। उनी छोरा जस्तै होइन, चरा जस्तै स्वतन्त्र हुन चाहन्छिन्। तर, समाजले उनलाई छोरा जस्तै भनेर तुलना गरिदिन्छ।
सिनेमामा सुरुदेखि अन्त्यसम्म महिलालाई छोरा नै जन्माउन जोड दिने प्रसंग धेरै छन्। सेप अफ ममलाई छोरा जस्तै नाम दिइनुको सान्दर्भिकता त्यहीँ भेटिन्छ। फिल्मको पहिलो दृश्यले नै विष्णु र उनकी आमाभन्दा माथि त्यहाँको समुदाय भएको कुरा स्थापना गरेको छ। अन्त्यमा, विष्णुले आमालाई सम्बोधन गर्दै लेखेको चिठीमा भन्छिन्– मलाई थाहा थियो; तपाईंले छोरो जन्माउनुपर्ने थियो, तर जन्मिएँ म।
जे होस्, दिल्लीबाट सिक्किम फर्कने निर्णयले विष्णुलाई आफ्नी आमा चिन्ने मौका दिन्छ। आफ्नो घर र प्रियजनको सम्बन्धलाई नयाँ ढंगले हेर्न सिकाउँछ। र, सबैभन्दा ठूलो कुरा उनी आफैँलाई चिन्छिन्।
सम्बन्धका आयामलाई महिलाकै कोणबाट प्रस्तुत गर्ने सेप अप ममको केन्द्रमा घर छ, जो आफैँमा पाँचौँ पात्र हो। यस सिनेमाले महिला र घरसँगको सम्बन्धलाई समेत नयाँ तरिकाले हेर्ने/सोच्ने नजर दिन्छ। छायाकारले समेत घरभित्र र बाहिरका दृश्यहरूको भेद अनुभूत हुने गरी क्यामेरा चलाएका छन्। राति दूरबिनले विष्णुले आमासँग बात मार्दै झिलिमिली बत्ती बलेका घरहरू नियालेको होस् वा अन्तिम दृश्यमा हरियो घाँसमा सुकाइएका कपडाहरूबीच विष्णु सुतेको दृश्य, ती आकर्षक छन्।
पात्रका अँध्यारा-उज्याला क्षणसँगै फेरिने प्रकाश अनि पात्र-प्रकृतिको मुडअनुसारको ध्वनि अनुभूत गराउने साउन्ड डिजाइनले पनि दर्शकको ध्यान खिच्छ।
गौमाया गुरुङ, पशुपति राई, श्यामा श्री शेर्पालगायत कलाकारहरूको सहज अभिनयले कथालाई अझै जीवन्त बनाएको छ। सिक्किमको स्थानीय लवजले मिठास थपेको छ।
(बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र सान सेबेस्टियन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको फिल्म हो, सेप अफ मम। थुप्रै महोत्सवमा प्रदर्शन भई पुरस्कारहरूसमेत जितेको यो फिल्म आजदेखि सुरु हुने पाँचदिने काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करणमा उद्घाटन फिल्मका रूपमा प्रदर्शन हुँदै छ।)