राजनीति
नेतृत्वको दबाबमा संसदीय दलको नेतामा रामबहादुर थापा
नेकपा (एमाले)को संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा निर्वाचित भएका छन्। इलाम २ बाट निर्वाचित एमाले केन्द्रीय सदस्य तथा सांसद सुहाङ नेम्बाङले प्रतिस्पर्धा गर्न खोजे पनि उनले प्रस्तावक र समर्थक जुटाउन नसकेपछि थापा दलको नेतामा सर्वसम्मत निर्वाचित भएका हुन्।
बुधबार (१८ चैत) दिउँसो एमाले मुख्यालय च्यासलमा भएको संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहितका नेताहरू उपस्थित थिए। बैठकमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले थापालाई सर्वसम्मत नेता बनाउनुपर्ने बताएका थिए। पार्टीमा लामो समय काम नगरेका नेम्बाङले अहिले नै महत्त्वपूर्ण जिम्मेवारी लिन नहुने उनीहरूको भनाइ थियो।
संसदीय दलको बैठकमा नेम्बाङले आफू पार्टीको विधि, पद्धति र वरीयताको विषयमा जानकार रहेको बताउँदै नेतृत्वको दाबी गरेका थिए। उनलाई संसदीय दलको नेतामा अघि बढाउन राजेन्द्र राई, भूमिका सुब्बा, अर्जुन कार्कीसहितका सांसदहरूले चाहेका थिए। “तर पछि नेतृत्वको फरक चाहना भएको थाहा पाएपछि ती सांसदले नेम्बाङको समर्थनमा मुख खोलेनन्,” एक नेताले भने।
प्रतिनिधिसभामा एमालेका २५ सांसद छन्। तीमध्ये नौ जना प्रत्यक्ष निर्वाचित हुन्।

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्वाचित भएपछि बधाई दिँदै सुहाङ नेम्बाङ। तस्बिर स्रोत : एमाले सांसद ऐन महरको फेसबुक पेज
एमाले निर्वाचन आयोगका सदस्य निरज आचार्यले निर्धारण गरेको समयमा थापाको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत रूपमा संसदीय दलको नेता चुनिएका हुन्।
संसदीय दलको बैठकपछि नेम्बाङले आफूले एमालेमा हिजो भएका कमजोरीलाई अलिअलि सुधार गर्न पाइला चाल्न खोजेको बताएका थिए। “पाइला चाल्दा कहिलेकाहीँ अपेक्षित नतिजा नआउन सक्छ, तर हामी हतोत्साहित हुनु हुँदैन। एमालेका शुभचिन्तक र युवा पुस्ता पनि हतोत्साहित हुनु हुँदैन,” नेम्बाङले च्यासलस्थित एमाले मुख्यालयमा सञ्चारकर्मीहरूसँग भने।
२१ फागुनमा भएको निर्वाचनमा पार्टीको अनपेक्षित हारपछि पार्टीले लिँदै आएको नीति र नेतृत्व परिवर्तन हुनुपर्ने माग उठ्दै आएको छ। हाल प्रहरी हिरासतमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने गल्ती नगरेको भन्दै कुनै परिवर्तन नहुने बताउँदै आएका छन्।
एमालेमा संसदीय दलको नेता चयनमा अवरोध भएको भन्दै उपमहासचिव योगेश भट्टराईले समेत आपत्ति जनाएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘आज नेकपा (एमाले)को संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो, यसबाट सिंगो पार्टीपंक्तिलाई थप चिन्तित बनाएको छ। केही दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरूका बीचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन।’
२१ फागुनमा भएको निर्वाचनमा पार्टीको अनपेक्षित हारपछि पार्टीले लिँदै आएको नीति र नेतृत्व परिवर्तन हुनुपर्ने माग उठ्दै आएको छ। हाल प्रहरी हिरासतमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने गल्ती नगरेको भन्दै कुनै परिवर्तन नहुने बताउँदै आएका छन्।
को हुन् थापा?
नेकपा (माओवादी)ले गरेको सशस्त्र विद्रोहको समयमा रामबहादुर थापा ‘बादल’ सैन्य रणनीतिकारका रूपमा चिनिन्थे। २०६९ सालमा माओवादी विभाजनपछि नेकपा–माओवादी गठन गरेका थापा केही वर्षपछि माओवादीमै फर्किए।

३ जेठ २०७५ मा एमाले र माओवादीबीच भएको एकतापछि उनी नेकपाको सचिवालय सदस्य थिए। २३ फागुन २०७७ मा नेकपा विभाजन हुँदा उनी माओवादीतर्फ नलागी एमालेमै रहे र अध्यक्ष केपी ओलीको विश्वासपात्र बने।
एमालेको दशौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका उनी गत मंसिरमा भएको एघारौँ महाधिवेशनबाट पनि उपाध्यक्षमै निर्वाचित भएका हुन्। एघारौँ महाधिवेशनपछि थापा एमालेमा ओलीपछिको दोस्रो वरीयतामा छन्। उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।
२०७४ सालको प्रतिनिधिसभा चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा थापा गृहमन्त्री थिए। २०६४ सालको पहिलो संविधानसभामा निर्वाचित भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनी रक्षामन्त्री थिए।