काठमाडौँ
००:००:००
५ असार २०८३, शुक्रबार

क्रिकेट

नियमित कप्तान रोहितकुमार पौडेललाई विश्राम दिँदै दीपेन्द्रलाई नेतृत्वको जिम्मेवारी

६ बैशाख २०८३
यूएईका कप्तान मोहम्मद वासिम र नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी। तस्बिर : आईसीसी(बायाँ) र क्यान
अ+
अ-

ओमानमा गत वर्ष अक्टोबरमा सम्पन्न टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक क्षेत्रको संयुक्त छनोटमा ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका थिए। उनले ४७ बलमा चार चौका र एक छक्काको मद्दतमा ५१ रन बनाए पनि ब्याटिङ केही सुस्त देखिएको थियो।

युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले अपेक्षाअनुसार ठूलो स्कोर खडा गर्न सकेन। ओपनर कुशल भुर्तेल र शेखबीच पहिलो विकेटका लागि ५६ रनको साझेदारी बने पनि त्यसपछि अन्य ब्याटरले निराशाजनक प्रदर्शन गरे, जसका कारण नेपाल १४० रनमै सीमित रह्यो।

अघिल्ला खेलहरूको तुलनामा यो प्रदर्शन केही सुधारिए पनि पर्याप्त भने थिएन। जवाफमा यूएईका अलिसान सराफुले ५८ रन र ध्रुव प्रसारले ३२ रन बनाएपछि खेल यूएईतर्फ ढल्किएको जस्तो देखिन्थ्यो। तर, अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक विकेट लिएपछि खेलले नाटकीय मोड लियो। अन्ततः नेपालले यूएईलाई १३९ रनमा रोक्दै एक रनको रोमाञ्चक जित निकाल्दै उपाधि आफ्नै नाममा लेखायो।

यूएईविरुद्ध हासिल गरिएको यो जित नेपालका लागि टी-२० आई इतिहासकै कम अन्तरको जित हो। यसअघि नेपालले १ मार्च २०२४ मा घरेलु मैदानमा सम्पन्न पाँचदेशीय टी-२० आई शृंखलामा नामिबियाविरुद्ध तीन रनको झिनो अन्तरले विजय हासिल गरेको थियो। यही टक्करका प्रतिस्पर्धी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार र मंगलबार आमनेसामने हुँदै छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट विश्वकप लिग-२ अघि दुई खेलको शृंखला आयोजना गर्न लागेको हो। यी दुई खेल नेपालले पहिलो पल्ट घरेलु मैदानमा फ्लडलाइटमा खेल्नेछ। क्यानका अनुसार खेल साँझ ५ बजे सुरु हुनेछ।

सधैँको प्रतिस्पर्धी

एसोसिएट राष्ट्रहरूको सन्दर्भमा हेर्दा अधिकांशले नेपालको मुख्य प्रतिस्पर्धीका रूपमा यूएईलाई नै लिने गरेका छन्। यसको मुख्य कारण नेपालले सन् २०१४ मा टी-२० अन्तर्राष्ट्रिय मान्यता पाएयता यी दुई टोलीबीच लगातार प्रतिस्पर्धा हुँदै आउनु पनि हो।

हालसम्म नेपाल र यूएईबीच ११ वटा टी-२० आई खेल भइसकेका छन्। प्रतिस्पर्धा निकै सन्तुलित देखिन्छ। यी खेलमध्ये नेपालले ६ मा जित हात पारेको छ भने यूएईले पाँच खेल आफ्नो पक्षमा पारेको छ। नेपाल र यूएईबीच यस फर्म्याटमा ३१ जनावरी २०१८ देखि प्रतिस्पर्धा सुरु भएको हो। आईसीसी ग्लोबल क्रिकेट एकेडेमी दुबईमा भएको पहिलो भेटमा नेपाली टोलीका तत्कालीन मुख्य प्रशिक्षक उमेश पटवालले अप्रत्याशित टोलीलाई मैदान उतारेका थिए।

नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल। तस्बिर : क्यान

नियमित रूपमा खेलिरहेका विनोद भण्डारी, आरिफ शेख र ललितनारायण राजवंशी जस्ता अनुभवी खेलाडीको स्थानमा रोहितकुमार पौडेल, अविनाश बोहोरा र सन्दीप जोरा जस्ता युवा खेलाडीलाई डेब्यु गराइएको थियो। पारस खड्काको कप्तानीमा मैदान उत्रिएको टोलीबाट १७ वर्षीय सन्दीप जोराले अविजित ५३ रनको उत्कृष्ट इनिङ्स खेले पनि नेपाल २१ रनले पराजित हुन पुग्यो।

त्यसको भोलिपल्ट भएको दोस्रो खेलमा प्रशिक्षकले रणनीति परिवर्तन गर्दै अनुभवी खेलाडीहरूलाई नै प्राथमिकता दिए। रोहितलाई आराम दिँदै १८ वर्षीय पवन सर्राफलाई मौका दिइएको थियो। यस निर्णयले सकारात्मक परिणाम दियो। नेपालले चार विकेटको जित मात्र निकालेन, तीन खेलको शृंखलालाई १-१ को बराबरीमा पनि ल्यायो।

उक्त खेलमा पवन सर्राफले सातौँ विकेटका लागि ‘प्लेअर अफ दी म्याच’ दीपेन्द्रसँग ६४ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई कठिन अवस्थामा १०१ रनसम्म पुर्‍याए। अन्ततः दीपेन्द्रले अविजित ४७ रनको उत्कृष्ट इनिङ्स खेल्दै १०८ रनको लक्ष्य पूरा गरी नेपाललाई स्मरणीय जित दिलाए। त्यसकै दुई दिनपछि सम्पन्न निर्णायक खेलमा जोराले २८ रनको महत्त्वपूर्ण इनिङ्स खेले भने अविनाश बोहोराले दुई विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। उनीहरूको योगदानमा नेपाल १४ रनको जित निकाल्दै तीन खेलको शृंखला २-१ ले आफ्नो पक्षमा पार्न सफल भयो।

नियमित खेल्दै आएका मुख्य दुई तीव्र गतिका बलर सोमपाल कामी र करण केसीको स्थानमा यसपटक हेमन्त धामी र नन्दन यादवले सम्भवतः जोडी बाँध्नेछन्।

त्यसयता नेपाल र यूएईबीचको प्रतिस्पर्धा झन् तीव्र बन्दै गएको छ। कोरोना महामारीपछि १२ र १३ फेब्रुअरी २०२२ मा भएको शृंखलामा नेपालले लगातार दुई हार बेहोर्‍यो। त्यसमा टोली २५ र ६८ रनले पराजित भएको थियो।

त्यसको अर्को वर्ष नेपाल‍ घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै बदला लिन सफल भयो। ओमानमा १८ र २३ अक्टोबर २०२३ मा भएका खेलमा नेपालले क्रमशः पाँच र सात विकेटको जित निकाल्दै सात भेटमा ४-३ को अग्रता बनायो। सोही महिनामा भएको विश्वकप छनोटको फाइनलमा समेत नेपालले आठ विकेटको सहज जित निकाल्दै यूएईको लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्ने सपना अधुरै बनाइदियो।

विनोद भण्डारी र रोहित (दायाँ)। तस्बिर : क्यान

त्यसपछि भने यी दुई टोलीबीच हरेक वर्ष एक पटक मात्र भेट हुने गरेको छ। त्यो पनि एसियन क्रिकेट काउन्सिल (एसीसी) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का प्रतियोगिताहरूमा। १९ अप्रिल २०२४ मा ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको प्रिमियर लिगको सेमिफाइनलमा नेपाल ६ विकेटले पराजित भएको थियो। सोही मैदानमा १२ अक्टोबर २०२५ मा भएको विश्वकप छनोटको फाइनलमा भने नेपालले एक रनको रोमाञ्चक जित निकाल्दै उक्त हारको बदला पूरा गर्‍यो।

फेरिएको टोली

सन् २०१९ मा भएको पहिलो भेटमा खेलेका पारस खड्कासँगै ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी र वसन्त रेग्मीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन्। त्यतिबेला कम उमेरमै नेपाली टोलीमा अवसर पाएका र दुई खेल जिताउन महत्त्वपूर्ण भूमिका खेलेका सन्दीप जोरा भने अहिले पनि सक्रिय रूपमा टोलीमा छन्। सोमबार र मंगलबार हुने यूएईविरुद्ध हुने शृंखलामा पनि सम्भवतः उनी उत्रिनेछन्।

यूएईविरुद्धको खेलअघि अभ्यासमा सन्दीप जोरा। तस्बिर : क्यान

जोरा पछिल्लो समय यो फर्म्याटमा चल्न सकेका छैनन्। सोही कारण उनी टी-२० विश्वकपमा पनि मैदान उत्रिन पाएनन्। यद्यपि, यसबीच ३९ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। त्यसमा उनले चार अर्धशतकसहित ४८९ रन बनाएका छन्। अझ रोचक पक्ष के भने, उनका ती अर्धशतकमध्ये दुई यूएईविरुद्ध नै बनेका हुन्। त्यसैले टोलीले उनीविरुद्ध यस्तै उत्कृष्ट इनिङ्सको अपेक्षा राख्नेछ।

दुई खेल नेपालले पहिलो पल्ट घरेलु मैदानमा फ्लडलाइटमा खेल्नेछ।

उनीबाहेक सन्दीप लामिछाने, आरिफ शेख र दीपेन्द्रसिंह ऐरी मात्र उक्त शृंखलाका लागि नेपाली टोलीमा समावेश हुनेछन्। यस शृंखलामा दीपेन्द्रले नेपालको कप्तानी सम्हाल्नेछन्। मुख्य प्रशिक्षक स्टुअर्ट लले टोलीका नियमित कप्तान रोहितकुमार पौडेललाई विश्राम दिँदै दीपेन्द्रलाई नेतृत्वको जिम्मेवारी दिएका हुन्।

यूएईविरुद्धको खेलअघि अभ्यासमा सन्दीप लामिछाने। तस्बिर : क्यान

यसअघि दीपेन्द्रले रोहितकै कप्तानीमा सन् २०२४ र २०२६ का विश्वकपमा सहभागिता जनाइसकेका छन्। यीबाहेक पनि टोलीमा केही महत्त्वपूर्ण परिवर्तन पनि देखिएको छ। नियमित खेल्दै आएका मुख्य दुई तीव्र गतिका बलर सोमपाल कामी र करण केसीको स्थानमा यसपटक हेमन्त धामी र नन्दन यादवले सम्भवतः जोडी बाँध्नेछन्।

स्पिनतर्फ पनि परिवर्तन गरिएको छ। ललितनारायण राजवंशीको स्थानमा शहाब आलमलाई टोलीमा समावेश गरिएको छ। यसले बलिङ संयोजनमा नयाँ विकल्पसँगै जितमा पनि संख्या थप्ने अपेक्षा गरिएको छ।