काठमाडौँ
००:००:००
२७ जेष्ठ २०८३, बुधबार

आवरण

फिफा विश्वकपको इतिहासमा नयाँ अध्याय लेख्ने २०२६ को यस विश्वकपमा पहिलो पटक ४८ राष्ट्र खेलिरहेका मात्र छैनन्, एकसाथ अनेक कीर्तिमान रचिने अवसर पनि छ।

२७ जेष्ठ २०८३
अर्जेन्टिनी कप्तान लिओनल मेसी र पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो। तस्बिर : रोयटर्स
अ+
अ-

मध्यपूर्वमा पहिलो पटक आयोजना भएकाले सन् २०२२ को फिफा विश्वकप विशेष चर्चामा थियो। उक्त चर्चित उत्सवको साक्षी बन्न नेपाल ब्ल्याकबेल्ट कमिटीका अध्यक्ष नारायणदेव राना कतार पुगे।

दक्षिण अमेरिकी फुटबलका समर्थक रानाका लागि विश्वकप प्रत्यक्ष हेर्न पाउनु एउटा सपना पूरा हुनु थियो। उनले विश्वकपका धेरै अविस्मरणीय क्षण नजिकबाट हेर्ने अवसर कतारमा पाए। सबैभन्दा सम्झनलायक क्षण थियो– ब्राजिल र क्रोएसियाबीचको क्वार्टरफाइनल।

त्यस खेलअघि विश्व फुटबल जगत् ब्राजिलको पक्षमा देखिन्थ्यो। स्टार खेलाडीहरूले भरिएको टोलीलाई उपाधिको बलियो दाबेदार मानिएको थियो। एजुकेसन सिटी रंगशालाको माहोल, समर्थकहरूको उत्साह र विश्वव्यापी चर्चा ब्राजिलकै वरिपरि घुमिरहेका थिए। राना पनि ब्राजिलले नै खेल जित्छ भन्नेमा लगभग निश्चित थिए। तर, फुटबललाई अनिश्चितताको खेल किन भनिन्छ भन्ने पुष्टि त्यही खेलले गरिदियो। अपेक्षाविपरीत नतिजा आयो। पेनाल्टी सुटआउटमा ब्राजिल ४-२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो र क्रोएसिया सेमिफाइनल पुग्यो।

ब्राजिलको खेल हेर्न कतार पुगेका नारायणदेव राना। तस्बिर : रानाको सामाजिक सञ्जाल

खासमा, खेल्ने शैलीले नै दक्षिण अमेरिकी टोलीहरूलाई विशेष बनाएको हो। उनी भन्छन्, “अर्जेन्टिना र ब्राजिल जस्ता टोलीहरूको खेल्ने तरिका अरूभन्दा फरक र कलात्मक हुन्छ। हेर्दा छुट्टै आनन्द आउँछ।”

त्यतिबेलाको विश्वकप नेपाली समर्थकले पैसा तिरेर प्रत्यक्ष हेर्न जान सक्ने सामर्थ्यको थियो। त्यसैले राना फुटबल महाकुम्भको प्रत्यक्ष अनुभव गर्न आयोजक राष्ट्र नै पुगेका थिए। विश्वकपको गन्तव्य उत्तर अमेरिका बनेसँगै रानाको योजना फेरिएको छ। अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुने विश्वकप २०२६ प्रत्यक्ष हेर्ने चाहना भए पनि खर्चले उनलाई रोकिदिएको छ।

“कतार एसियामै भएकाले जाँदा-आउँदा खर्च धेरै थिएन। अहिले त अमेरिकामा छ। त्यो हामीले ‘अफोर्ड’ नै गर्न सक्दैनौँ,” उनी हाँस्दै भन्छन्, “यसपल्ट चाहिँ नेपालमै साथीभाइसँग बसेर विश्वकप हेर्ने योजना बनेको छ।”

विश्वकपको यस संस्करणमा ४८ टोली प्रतिस्पर्धा गर्दै छन्। यसअघि ३२ टोली सहभागी हुने गरेकामा फिफाले यस संस्करणमा १६ टोली थपेको छ। सन् १९९८ पछि पहिलोपल्ट विश्वकपमा टोली संख्या थपिएको हो।

फिफा विश्वकप २०२६ नयाँ स्वरूप र अभूतपूर्व आकारका साथ आयोजना हुँदै छ। अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुने विश्वकपको यो संस्करण सहभागी टोली, खेल संख्या र आयोजनाका हिसाबले अहिलेसम्मकै ठूलो बन्नेछ।

विश्वकपको यस ४८ संस्करणमा टोली प्रतिस्पर्धा गर्दै छन्। यसअघि ३२ टोली सहभागी हुने गरेकामा फिफाले यस संस्करणमा १६ टोली थपेको छ। सन् १९९८ पछि पहिलोपल्ट विश्वकपमा टोली संख्या थपिएको हो।

यससँगै प्रतियोगिताको संरचनामा पनि परिवर्तन भएको छ। समूह चरणमा समूह थपिएका छन्। नकआउट चरणमा ‘राउन्ड अफ ३२’ थपिएको छ। त्यसैले विश्वकप २०२६ विश्व फुटबलको इतिहासमा विशेष कोसेढुंगा बन्ने अपेक्षा छ।

यसपल्ट १६ रंगशालामा १०४ खेल हुनेछन्। तीन राष्ट्रका १६ सहर विश्वकपका केन्द्र बन्दै छन्। अमेरिकाका ११, मेक्सिकोका तीन र क्यानडाका दुई सहरमा ३९ दिनसम्म प्रतियोगिता चल्नेछ। मेक्सिको र क्यानडाले १३-१३ खेल आयोजना गर्नेछन् भने अमेरिकामा ७८ खेल खेलाइनेछन्। सबैभन्दा महत्त्वपूर्ण खेलहरू अमेरिकामा हुँदै छन्। तीमध्ये क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल खेल न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुनेछन्। जापान र दक्षिण कोरियाको संयुक्त आयोजनामा भएको सन् २००२ को विश्वकपपछि बहुराष्ट्र आयोजक भएको विश्वकप यो दोस्रो हो।

नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइक। तस्बिर : एपी

प्रतियोगिताको उद्घाटन खेल ११ जुनमा मेक्सिको सिटीमा आयोजना हुनेछ। यस खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्नेछन्। त्यसको एक दिनपछि टोरन्टोमा क्यानडाले बोस्निया हर्जगोभिनाविरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्नेछ। अमेरिकाले पनि १२ जुनमा पाराग्वेविरुद्ध खेल्दै विश्वकप यात्रा थाल्नेछ। तर, अधिकांश खेल नेपाली समयअनुसार बिहान सबेरै हुनेछ। त्यसैले यसपल्टको प्रतियोगिता कसरी हेर्ने भन्ने चिन्ता थपिएको काठमाडौँ शिक्षा क्याम्पसमा स्नातक तहमा अध्ययन गरिरहेकी शिक्षा कार्की बताउँछिन्।

पोर्चुगलकी प्रशंसक कार्की भन्छिन्, “यसपल्ट हाम्रो आइडल रोनाल्डोको अन्तिम खेल हो। पोर्चुगलको खेल सकेसम्म नछुटाउने सल्लाह साथीहरूसँग भएको छ। तर, सबेरै खेल हुने भएकाले एकै ठाउँमा जम्मा हुन गाह्रो हुन्छ, त्यसैले घरमै बसेर हेर्ने योजना छ।”

प्रतियोगिताको उद्घाटन खेल ११ जुनमा मेक्सिको सिटीमा आयोजना हुँदै छ, जसमा मेक्सिको र दक्षिण अफ्रिका भिड्नेछन्। त्यसको एक दिनपछि टोरन्टोमा क्यानडाले बोस्निया हर्जगोभिनाविरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्नेछ। अमेरिकाले पनि १२ जुनमा पाराग्वेविरुद्ध खेल्दै विश्वकप यात्रा थाल्नेछ।

चार नयाँ राष्ट्र

विश्वकपले यसपल्ट चार नयाँ राष्ट्रलाई स्वागत गरेको छ। केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तानले पहिलोपल्ट विश्वकपमा स्थान बनाएका हुन्। कुरासाओ विश्वकपमा छनोट हुने अहिलेसम्मको सबैभन्दा सानो राष्ट्र हो, जनसंख्याका आधारमा । जसमा करिब एक लाख ५६ हजार जनसंख्या छ। कुरासाओको टोलीले विश्व फुटबलको महाशक्ति तथा चारपल्टको विजेता जर्मनीविरुद्ध खेल्दै प्रतियोगिता सुरुआत गर्नेछ। क्यारिबियन क्षेत्रमा रहेको कुरासाओमा शताब्दीयौँसम्म डच उपनिवेश थियो। त्यसैले टोलीमा नेदरल्यान्ड्समा जन्मिएका तथा हुर्किएका खेलाडीहरूको संख्या उल्लेखनीय छ।

आइसल्यान्ड दोस्रो सानो राष्ट्र हो भने करिब पाँच लाख जनसंख्या भएको केप भर्डे विश्वकपमा छनोट हुने साना राष्ट्रमध्ये तेस्रो हो।

अफ्रिकाको पश्चिमी तटमा अवस्थित १० ज्वालामुखी टापुहरूको यस राष्ट्रले क्यामरुन र अंगोला जस्ता बलिया टोली रहेको समूहबाट विश्वकपमा स्थान बनाएको हो। छनोटका क्रममा घरेलु मैदानमा खेलेका पाँचवटै खेलमा केप भर्डे टोली अपराजित रहेर ‘क्लिन सिट’ राख्न सफल भएको थियो। सन् २०२० देखि टोलीको प्रशिक्षक पेड्रो लेइताओ ब्रिटो अर्थात् ‘बुबिस्ता’ छन्। उनी राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्।

यी दुईबाहेक अर्को नयाँ टोली जोर्डन हो। जोर्डनले एसियन कपमा एकपल्ट उपविजेता बन्नुबाहेक ठूलो सफलता हासिल गर्न सकेको छैन।

कुराकाओको फुटबल टोलीको तस्बिर। तस्बिर : एपी

फ्रान्सेली क्लब रेन्नेसबाट चर्चित खेलाडी मुसा अल-तामारी विश्वकप खेल्दै छन्। उनले राष्ट्रिय टोलीका लागि २४ गोल गरेका छन्। मोरक्कोका पूर्वअन्तर्राष्ट्रिय मिडफिल्डर जमाल सेल्लामीको प्रशिक्षणमा रहेको जोर्डन पहिलो सहभागितामै प्रभाव छाड्ने लक्ष्यमा हुनेछ।

विश्व वरीयतामा ५०औँ स्थानमा रहेको उज्बेकिस्तान पहिलोपल्ट विश्वकप खेल्दै छ। सोभियत संघ विघटनपछि स्वतन्त्र राष्ट्र बनेको उज्बेकिस्तानले आफ्नै राष्ट्रिय टोली बनाएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको थियो। ‘ह्वाइट वुल्भ्स’ उपनामले चिनिने टोलीका प्रशिक्षक इटालीका फाबियो कानाभारो हुन्। गत अक्टोबरमा मात्र नियुक्त भएका उनले यसअघि टोलीलाई छनोट गराउने तिमुर कपाद्जेको स्थान लिएका छन्। कानाभारोले सन् २००६ मा इटालीलाई विश्वकप जिताउँदा कप्तानी गरेका थिए।

आठ विश्वविजेता

२३औँ संस्करणसम्म आइपुग्दा विश्वकप खेल्ने राष्ट्रको संख्या ८४ पुग्दै छ। उपस्थिति संख्या यति पुगे पनि हालसम्म आठ राष्ट्रले मात्र उपाधि जितेका छन्। पछिल्ला ११ संस्करणमा फ्रान्स (१९९८) र स्पेन (२०१०) पहिलोपल्ट च्याम्पियन बने। नत्र, अन्य संस्करणमा पुरानै टोलीको दबदबा कायम रह्यो।

अहिलेसम्म ब्राजिलले सर्वाधिक उपाधि जितेको छ। सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ गरी पाँचपल्ट उसले उपाधि हातमा पारेको थियो। जर्मनी र इटालीले समान चार, अर्जेन्टिनाले तीन, फ्रान्स र उरुग्वेले समान दुई तथा इङ्ल्यान्ड र स्पेनले समान एक उपाधि हात पारेका छन्।

नेदरल्यान्ड्स तीन, हंगेरी तथा चेक रिपब्लिक समान दुई र स्विडेन तथा कोस्टारिका समान एकपल्ट फाइनलमा पुगे पनि उपाधि उठाउन सकेका छैनन्। फ्रान्स लगातार तेस्रोपल्ट विश्वकप फाइनल पुग्ने लक्ष्यमा छ। यसअघि पश्चिम जर्मनी र ब्राजिलले उक्त उपलब्धि हासिल गरेका थिए।

विश्वकपका सम्पूर्ण संस्करणमा सहभागी हुने एक मात्र राष्ट्र ब्राजिल हो। उसले सर्वाधिक ७६ जित हासिल गरेको छ भने २३७ गोल गरेको छ।

विश्व फुटबलको इतिहासमा लगातार दुई विश्वकप जित्ने टोली निकै कम छन्। त्यस्तो उपलब्धि हासिल गर्ने एक मात्र राष्ट्र ब्राजिल हो। यस टोलीले सन् १९५८ र १९६२ मा लगातार उपाधि उचालेको थियो। त्यसयता कुनै टोलीले निरन्तर विश्वकप उपाधि रक्षा गर्न सकेका छैनन्। अब यो इतिहास रच्ने अवसर सन् २०२२ को विश्वविजेता अर्जेन्टिनाको काँधमा छ।

हालसम्म ६ पटक साबिक विजेता टोली समूह चरणबाटै बाहिरिएको रेकर्ड छ। पछिल्ला चार विश्वकपमध्ये इटाली (२०१०), स्पेन (२०१४) र जर्मनी (२०१८) ले यस्तै निराशाजनक नतिजा बेहोरेका थिए। इजिप्टले भने विश्वकपमा खेलेका सात खेलमध्ये कुनै पनि जित्न सकेको छैन। उसको रेकर्ड पाँच हार र दुई बराबरीको छ।

सन् २०२२ मा विश्वकप जितेपछि अर्जेन्टिनी खेलाडी। तस्बिर : एपी

ब्राजिलको निरन्तर उपस्थिति

विश्वकपका सम्पूर्ण संस्करणमा सहभागी हुने एक मात्र राष्ट्र ब्राजिल हो। उसले सर्वाधिक ७६ जित हासिल गरेको छ भने २३७ गोल गरेको छ। विश्वकप इतिहासकै सफल राष्ट्र ब्राजिलले पछिल्लो पटक सन् २००२ मा उपाधि जितेको थियो। त्यसयता सन् २०१४ मा बाहेक प्रत्येक विश्वकपमा क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

सन् २०१४ मा घरेलु मैदानमा भएको विश्वकपमा ब्राजिल सेमिफाइनलसम्म पुगेको थियो। तर, जर्मनीसँग ७-१ को लज्जास्पद हार बेहोर्‍यो। सन् २०२२ को विश्वकपमा ब्राजिल क्वार्टरफाइनल चरणबाट बाहिरिएको थियो। चार वर्षअघि जस्तै त्यो बेला पनि उसलाई क्रोएसियाले रोक्यो।

समूह चरणमा ब्राजिलले सर्बिया र स्विजरल्यान्डविरुद्ध जित हासिल गरेको थियो। अन्तिम समूह खेलमा क्यामरुनसँग पराजित भए पनि टोली समूह ‘जी’ को शीर्षस्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्न सफल भएको थियो।

प्रतियोगितामा सहभागी खेलाडीमध्ये ३५७ जनाले यसअघि कम्तीमा एक संस्करण विश्वकप खेलिसकेका छन्। बाँकी ८९१ खेलाडीले भने पहिलो पटक विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो क्षमता देखाउने अवसर पाउँदै छन्। यसले विश्वकपमा नयाँ अनुहारहरूको प्रभावशाली उपस्थिति देखाएको छ।

‘राउन्ड अफ १६’ मा ब्राजिलले दक्षिण कोरियाविरुद्ध ४-१ को सहज जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। त्यसपछि सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियासँग उसको भेट भयो।

क्वार्टरफाइनलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो। अतिरिक्त समयमा दुवै टोलीले १-१ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा क्रोएसियाले ४-२ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो भने ब्राजिलको छैटौँपल्ट विश्वकप जित्ने सपना त्यहीँ समाप्त भयो।

यसपटक ब्राजिलको नेतृत्व रियल मड्रिडका भिनिसियस जुनियर, सान्तोसका नेयमार जुनियर र बार्सिलोनाका राफिन्हाले गर्नेछन्। विश्वकप छनोटमा कमजोर प्रदर्शन गरिरहेको अवस्थामा ब्राजिलले अनुभवी प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई रियलबाट ल्याएको छ। अर्जेन्टिनासँगको हारसहित केही निराशाजनक नतिजाबीच पनि उनले टोलीलाई २३औँपल्ट विश्वकपमा पुर्‍याएका हुन्। यद्यपि, ब्राजिल दक्षिण अमेरिकी छनोटमा पाँचौँ स्थानमा सीमित रहेको थियो।

पाँच पटक च्याम्पियन्स लिग जितिसकेका एन्सेलोट्टीका लागि मुख्य प्रशिक्षकका रूपमा यो पहिलो विश्वकप हुनेछ।

४८ राष्ट्रका एक हजार २४८ खेलाडी

विश्वकपमा सहभागी हुने अन्तिम टोली सार्वजनिक भएसँगै विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा मैदान उत्रिने खेलाडीको तस्बिर स्पष्ट भएको छ। यसपटक ४८ राष्ट्रका एक हजार २४८ खेलाडी विश्वकपमा सहभागी हुनेछन्।

प्रतियोगितामा सहभागी खेलाडीमध्ये ३५७ जनाले यसअघि कम्तीमा एक संस्करण विश्वकप खेलिसकेका छन्। बाँकी ८९१ खेलाडीले भने पहिलो पटक विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो क्षमता देखाउने अवसर पाउँदै छन्। यसले विश्वकपमा नयाँ अनुहारहरूको प्रभावशाली उपस्थिति देखाएको छ।

७१ राष्ट्रका ४४९ विभिन्न क्लबका खेलाडी यो विश्वकप खेल्दै छन्। क्लब फुटबलको केन्द्र मानिने इङ्ल्यान्डका क्लबबाट सबैभन्दा बढी २०० खेलाडीले विश्वकपमा सहभागिता जनाउनेछन्। त्यसपछि जर्मनीबाट १०९, फ्रान्स र स्पेनबाट समान ८६, इटालीबाट ७१ तथा साउदी अरबबाट ४९ खेलाडी विश्वकप टोलीमा परेका छन्। अमेरिकाको मेजर लिग सकर (एमएलएस)बाट पनि कीर्तिमानी ४४ खेलाडी सहभागी हुनेछन्।

पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले अहिलेसम्म विश्वकप उपाधि जित्न सकेका छैनन्। विश्वकपको नकआउट चरणमा त उनले एक गोल पनि गर्न सकेका छैनन्। क्लब र अन्तर्राष्ट्रिय फुटबलमा धेरै उपलब्धिका बाबजुद उनको विश्वकप बिरासत अपेक्षाअनुसार चम्किन सकेको छैन।

क्लबका सन्दर्भमा हेर्दा इङ्लिस च्याम्पियन म्यानचेस्टर सिटीका सर्वाधिक १९ खेलाडी विश्वकपमा छन्। जर्मन जायन्ट बायर्न म्युनिखका १८ खेलाडी सहभागी हुँदा फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी) र इङ्लिस क्लब आर्सनलका समान १६-१६ खेलाडी विश्वकप टोलीमा परेका छन्। क्याटलान क्लब बार्सिलोनाबाट १५ खेलाडी सहभागी छन्।

उमेरका हिसाबले पनि यसपटकको विश्वकप विशेष बनेको छ। स्कटल्यान्डका गोलरक्षक क्रेग गोर्डन सबैभन्दा पाका खेलाडी हुनेछन्, जसले ४३ वर्ष १६२ दिनको उमेरमा प्रतियोगिता खेल्दै छन्। अर्कातर्फ, मेक्सिकोका गिल्बर्टो मोरा १७ वर्ष २४० दिनको उमेरमा सबैभन्दा कान्छा खेलाडीका रूपमा विश्वकप खेल्न तयार छन्। यी दुई खेलाडीबीच २५ वर्षभन्दा बढी अन्तर छ।

विश्वकपमा २० वर्षभन्दा कम उमेरका २२ खेलाडी सहभागी छन् भने ४० वर्ष वा सोभन्दा माथिका सात खेलाडीले आफ्नो अनुभव मैदानमा उतार्नेछन्। पुस्तान्तरले पनि यो विश्वकप विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

रोनाल्डो, मेसी र ओचोआको छैटौँ विश्वकप

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले २२६ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। यो पुरुष फुटबल इतिहासकै सबैभन्दा बढी हो। उनी मेक्सिकोका गोलकिपर गुइलेर्मो ओचोआ र अर्जेन्टिनाका कप्तान लिओनल मेसीसँगै विश्वकपमा ६ पटक खेल्ने पहिलो खेलाडी बन्ने तयारीमा छन्।

रोनाल्डो लगातार पाँच वटा विश्वकपमा गोल गर्ने एक मात्र खेलाडी हुन्। उनले २२ खेलमा आठ गोल गरेका छन्। यदि पोर्चुगल यस वर्षको विश्वकप जित्न सफल भयो भने ४१ वर्षीय रोनाल्डो विश्वकप उचाल्ने इतिहासकै सबैभन्दा पाका खेलाडी बन्नेछन्।

क्रिस्टियानो रोनाल्डो। तस्बिर : एपी

पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले अहिलेसम्म विश्वकप उपाधि जित्न सकेका छैनन्। विश्वकपको नकआउट चरणमा त उनले एक गोल पनि गर्न सकेका छैनन्। क्लब र अन्तर्राष्ट्रिय फुटबलमा धेरै उपलब्धिका बाबजुद उनको विश्वकप बिरासत अपेक्षाअनुसार चम्किन सकेको छैन।

४१ वर्षको उमेरमा पनि उच्चस्तरको फुटबल खेल्न सक्नुलाई खेलजगत्‌मा असम्भव जस्तै ठानिन्छ। तर, रोनाल्डो अझै साउदी अरबको क्लब अल-नासरका लागि लगातार गोल गरिरहेका छन्। उनले निकट भविष्यमा सन्न्यास लिने कुनै संकेत पनि दिएका छैनन्।

आफ्नो करिअरभर असम्भवलाई सम्भव बनाएका मेसीलाई सहज रूपमा बिदा हुने खेलाडीका रूपमा लिनु ठूलो भूल हुन सक्छ। फुटबल संसारले अझै उनको अर्को अद्भुत प्रदर्शनको प्रतीक्षा गरिरहेको छ।

पोर्चुगलको टोली प्रतिभाशाली खेलाडीहरूले भरिएको छ। राफाएल लेआओ, पेड्रो नेटो र गोन्कालो रामोस जस्ता युवा खेलाडीहरू अन्तर्राष्ट्रिय फुटबलमा पहिचान स्थापित गर्ने प्रतीक्षामा छन्। तर, प्रशिक्षक रोबर्टो मार्टिनेजले अझै पनि टोलीको केन्द्रमा रोनाल्डोलाई राखेका छन्। सम्भवतः रोनाल्डोको यो अन्तिम विश्वकप हुनेछ र विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने अन्तिम अवसर पनि। यदि पोर्चुगललाई विश्व च्याम्पियन बनाउन सके भने त्यस उपलब्धिले उनको ऐतिहासिक करिअरलाई अझ पूर्ण र अविस्मरणीय बनाउनेछ।

विश्वकपमा सर्वाधिक २६ खेल खेलेका मेसी ३९ वर्षनजिक पुगिसकेका छन्। बीचबीचमा आएका केही अन्योलपूर्ण संकेतका बाबजुद उनी इतिहासमै कीर्तिमानी छैटौँ विश्वकप खेल्दै छन्। फुटबल इतिहासकै महान् खेलाडी मानिने मेसीले सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउँदै आफ्नो करिअरको सबैभन्दा अधुरो सपना पूरा गरेका थिए।

लियोनल मेसी। तस्बिर : रोयटर्स

त्यसयता मेसी अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा आबद्ध छन्। उनले युरोपेली फुटबलबाट बाहिरिँदै कम प्रतिस्पर्धात्मक तर रोमाञ्चक अमेरिकी लिगमा खेल जीवनलाई निरन्तरता दिइरहेका छन्। यसक्रममा आफ्नो शारीरिक अवस्थाको पनि विशेष ख्याल राखिरहेका छन्।

उमेर बढ्दै गए पनि मेसीले अर्जेन्टिनाका लागि खेल्न छाडेका छैनन्। उनीबाट अझै पनि टोलीका लागि निर्णायक गोल  र सहायता अपेक्षा गरिन्छ। यद्यपि, विस्तारित ढाँचा, बढी खेल संख्या र अपेक्षित अत्यधिक गर्मीबीच यस विश्वकपमा मेसीले कस्तो प्रदर्शन गर्नेछन् भन्ने प्रश्नहरू उठिरहेका छन्। आफ्नो करिअरभर असम्भवलाई सम्भव बनाएका मेसीलाई सहज रूपमा बिदा हुने खेलाडीका रूपमा लिनु ठूलो भूल हुन सक्छ। फुटबल संसारले अझै उनको अर्को अद्भुत प्रदर्शनको प्रतीक्षा गरिरहेको छ।

मेक्सिकोका गोलकिपर ओचोआ पनि रोनाल्डो र मेसी जस्तै छैटौँ पटक विश्वकप खेल्ने तयारीमा छन्। उनले सन् २००६ र २०१० मा भने खेल्ने अवसर पाएका थिएनन्।

तोडिन बाँकी छिटो गोलको रेकर्ड

सन् १९३० देखि २०२२ सम्म आयोजित विश्वकपका २२ संस्करणमा ९६४ खेल खेलिएका छन्, जसमा दुई हजार ७२० गोल भएका छन्। तर, पनि एउटा गोलको कीर्तिमान अझै तोडिन सकेको छैन। त्यस्तो कीर्तिमान राख्ने खेलाडी हुन्– टर्कीका चर्चित स्ट्राइकर हाकान सुकुर। टर्कीका ‘गोल्डेन बोई’ भनेर चिनिने उनले खेल सुरु भएको ११ सेकेन्ड नहुँदै बललाई जाली चुमाएर विश्वकप इतिहासको सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान बनाएका थिए।

उनले सन् २००२ को विश्वकपमा आठ घण्टा २२ मिनेट मैदानमा बिताउँदा पनि एक गोल गर्न सकेका थिएनन्। लगातार गोलविहीन प्रदर्शनपछि उनी टोलीको सुरुआती रोजाइबाट बाहिरिन सक्ने चर्चा चुलिएको थियो। तर, प्रशिक्षक सेनोल गुनेसले दक्षिण कोरियाविरुद्धको तेस्रो स्थानका लागि भएको खेलमा उनलाई विश्वास गरे।

सुकुरले त्यो विश्वास कायम राख्न धेरै समय लगाएनन्। खेल सुरु भएको १०.८ सेकेन्डमै गोल गरेर इतिहास रचे।

खेल सुरु भएपछि बल दक्षिण कोरियाका कप्तान तथा डिफेन्डर होङ म्युङ-बोसम्म पुगेको थियो। तर, टर्कीका इल्हान मान्सिजले बल खोसिहाले। उनले सुकुरलाई पास दिए। अवसर पाउनासाथ सुकुरले शान्त र सटीक प्रहार गर्दै बललाई जाली चुमाए।

धेरै दर्शक आफ्नो सिटमा बस्न नपाउँदै बल गोलपोस्टभित्र पुगिसकेको थियो। यस गोलले सन् १९६२ मा चेकोस्लोभाकियाका भाक्लाभ मासेकले बनाएको १५ सेकेन्डको कीर्तिमान तोडेको थियो। दुई दशकभन्दा बढी समय बितिसक्दा पनि सुकुरको उक्त गोल विश्वकप इतिहासकै सबैभन्दा छिटो गोलको सूचीमा यथावत् छ।

मेसी र एमबाप्पेलाई कीर्तिमान तोड्ने अवसर

विश्व फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्, मिरोस्लाभ क्लोजे। उनको विश्वकप यात्रा सन् २००२ मा सानदार ढंगले सुरु भएको थियो। साउदी अरबविरुद्धको खेलमा ह्याट्रिक गर्दै उनले विश्व फुटबलमा आफ्नो आगमनको बलियो संकेत दिएका थिए। त्यसपछि क्लोजेले लगातार चार विश्वकपमा जर्मनीको आक्रमणको नेतृत्व गरे।

सन् २००२ मा उनले पाँच गोल गरे। त्यसको चार वर्षपछि घरेलु भूमिमा भएको प्रतियोगितामा पाँच गोल थपे। सन् २०१० को विश्वकपमा चार गोल गरेका उनले सन् २०१४ मा थप दुई गोल गर्दै आफ्नो विश्वकप करिअरलाई ऐतिहासिक उचाइमा पुर्‍याए।

क्लोजेको करिअरको सबैभन्दा स्मरणीय क्षण ८ जुलाई २०१४ मा थियो। त्यो उनको अन्तिम विश्वकप थियो। ब्राजिलमा आयोजित प्रतियोगिताको सेमिफाइनलमा जर्मनीले आयोजक ब्राजिललाई ७-१ को अपमानजनक हार चखाएको ऐतिहासिक खेलमा क्लोजेले आफ्नो १६औँ विश्वकप गोल गरेका थिए।

विश्वकपको अन्तिम तयारीमा मेसी। तस्बिर : एपी

त्यो गोलसँगै उनले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान राखे। उनले ब्राजिलका महान् स्ट्राइकर रोनाल्डोको कीर्तिमान तोडेका थिए। उनले विश्वकपमा १५ गोल गरेका थिए।

विशेष कुरा के थियो भने, क्लोजेले आफ्नो कीर्तिमानी गोल गर्दा रोनाल्डो स्वयं रंगशालाको दर्शकदीर्घामा उपस्थित थिए। जर्मन स्ट्राइकरले इतिहास रच्दा फुटबलका अर्का महान् गोलकर्ताले प्रत्यक्ष रूपमा त्यो क्षण हेरिरहेका थिए। यी दुईबाहेक जर्मनीका गर्ड मुलरले १४ र फ्रान्सका जस्ट फन्टेनले १३ गोल गरेका छन्। यी सबै खेलाडीले सन्न्यास लिइसकेका छन्।

त्यसैले मुलरको कीर्तिमान तोड्ने अवसर यसपल्ट अर्जेन्टिनी कप्तान लिओनल मेसी र फ्रान्सेली कप्तान केलियन एमबाप्पेलाई जुरेको छ। मेसीले १३ र एमबाप्पेले १२ गोल गरिसकेका छन्।