काठमाडौँ। पत्रकार एवं लेखक नेत्र पन्थीको कृति लेफ्ट–राइट: सत्ता र शक्तिको ‘अ’राजनीति को अंग्रेजी संस्करण प्रकाशनमा आएको छ। दुई वर्षअघि प्रकाशित नेपाली संस्करणलाई परिमार्जन र पुनर्लेखन गरेर तयार गरिएको अंग्रेजी संस्करण दसैँको अवसर पारेर प्रकाशित भएको हो।
पुस्तकमा प्रमुख दलका शीर्ष नेताहरूले सत्ता र शक्ति प्राप्तिका लागि मूल्य–मान्यता, विधान र संविधानलाई बेवास्ता गरेर चालेका कदमहरूको विस्तृत विवेचना गरिएको छ।
प्रकाशक इन्डिगो इन्कका अनुसार पुस्तकले कहिले दायाँ त कहिले बायाँ मोडिने राजनीतिक नेतृत्वको चरित्र र त्यसका दुर्भाग्यपूर्ण परिणामलाई प्रस्ट्याउने प्रयास गरेको छ। नैतिक र अनैतिकको सीमारेखा मेटिँदै गएको नेपाली राजनीतिका अन्तरकथा उजागर गर्ने पुस्तकमा पछिल्ला सत्ता समीकरणका नाटकीय घटनाक्रम, गुप्त भेटघाट र सम्झौतासमेत समेटिएका छन्।
यसअघि लेखक पन्थीका लेफ्ट–राइट: सत्ता र शक्तिको ‘अ’राजनीति (२०८०), डिभोर्स : प्रचण्ड र बाबुरामको (२०७२), माओवादीभित्र अन्तरसंघर्ष (२०६९) र युद्धमा प्रेम र यौन (२०६६) नामक पुस्तकहरू प्रकाशित भइसकेका छन्।