विराटनगर। विराटनगरमा जारी छैटौँ संस्करणको ‘मिल्स गोल्डकप’ फुटबल प्रतियोगितामा उदयपुरको ब्रदरहुड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
विराटनगर जुट मिलको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा झापाको कन्काई स्पोर्टिङ क्लबलाई सडन डेथमा ६-५ गोल अन्तरले पराजित गर्दै उदयपुरले अन्तिम चारको यात्रा तय गरेको हो।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा दुवै टोलीबाट ५-५ गोल भएपछि खेल सडन डेथमा धकेलिएको थियो। सडन डेथमा उदयपुरका कवीन्द्र धिमालले गोल गर्दा झापाका निगम घिसिङको प्रहार पोस्ट बाहिरिएको थियो।
टाइब्रेकरमा उदयपुरका निवास फुयाल, सविन घिमिरे, सञ्जय धिमाल, निश्चल मुक्ताङ र विदेशी खेलाडी फोफोनाले गोल गरे।
झापाका तर्फबाट बाबुराम थारू, आशिष चापागाईं, आदित्य बानियाँ, सञ्जय लिम्बू र रोहन कार्कीले गोल गरे पनि निगम चुक्दा टोली प्रतियोगिताबाट बाहिरियो।
खेलको म्यान अफ द म्याच उदयपुरका निश्चल मुक्ताङ घोषित भए। उनले नगद २१ सय रुपैयाँ प्राप्त गरे।
यसअघि प्रतिस्पर्धात्मक खेलको १४औँ मिनेटमा हेमन लिम्बूको गोलबाट झापाले सुरुवाती अग्रता लिएको थियो। सञ्जय लिम्बूले उपलब्ध गराएको क्रस पासलाई सदुपयोग गर्दै हेमनले बललाई जाली चुमाएका थिए। सुरुवाती अग्रता जोगाउन नसक्दा झापा स्तब्ध बन्यो। खेलको ६४औँ मिनेटमा उदयपुरका सञ्जय धिमालले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
खेलभरि दुवै टोलीले गोलका थुप्रै अवसरहरू गुमाएका थिए। १७औँ मिनेटमा उदयपुरका कवीन्द्र लिम्बूको प्रहार पोस्टको थोरै माथिबाट बाहिरियो। लगत्तै उदयपुरका फोफनाको शक्तिशाली प्रहारलाई झापाका गोलकिपर विवेक मगरले उत्कृष्ट बचाउ गर्दै टिमको संकट टारेका थिए।

खेलको प्यलेर अफ दी म्याच भएका उदयपुरका निश्चल मुक्ताङलाई पुरस्कार वितरण गर्दै नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालसहित। तस्बिर : अनिल श्रेष्ठ
प्रतियोगिताको उद्घाटन कोसी प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री भीम पराजुलीले गरेका थिए। उद्घाटन समारोहमा मन्त्री पराजुलीले खेलकुदको माध्यमबाट विराटनगरको ऐतिहासिक पहिचान जोगाउन मिल्स गोल्डकपले महत्त्वपूर्ण भूमिका खेलेको बताए।
मिल्स गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष विष्णु डंगोलका अनुसार प्रतियोगितामा आठ टोलीको सहभागिता छ। २०७७ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको यस प्रतियोगिताको विजेताले दुई लाख एक हजार १११ र उपविजेताले एक लाख एक हजार १११ रुपैयाँ प्राप्त गर्नेछन्। विधागततर्फ उत्कृष्ट खेलाडीलाई ५१ सय र अन्य विधाका विजेतालाई ३१ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताअन्तर्गत आइतबार लेटाङ फुटबल क्लब र कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरबीच प्रतिस्पर्धा हुनेछ।