मिल्स गोल्डकप
विराटनगर। साबिक विजेता लेटाङ फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
विराटनगर जुटमिल मैदानमा आइतबार भएको खेलमा पुलिसले लेटाङलाई ४-३ गोल अन्तरले स्तब्ध बनायो। निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि जितको छिनोफानो टाइब्रेकरबाट गरिएको हो।
टाइब्रेकरमा पुलिसका रमेश राजवंशी, सविन राई, हेम तामाङ र सञ्जीव लिम्बूले गोल गरे। पुलिसका समीर लिम्बूको प्रहार लेटाङका गोलरक्षक अमृत क्षेत्रीले बचाएका थिए। यता लेटाङका तर्फबाट नीरज परियार, सुदीप श्रेष्ठ र सुलेन तामाङले मात्र गोल गर्न सके। लेटाङका सागर तिवारीको प्रहार बाहिरिएको थियो भने उमेश कार्कीको प्रहारलाई पुलिसका गोलरक्षक सचिन चौधरीले उत्कृष्ट बचाउ गर्दै टोलीको जित सुनिश्चित गरे।
निर्णायक बचाऊ गरेका पुलिसका गोलरक्षक चौधरी नै खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद २१ सय रुपैयाँ पुरस्कार पाए।
यसअघि खेलको दोस्रो मिनेटमै सञ्जय चौधरीको पासमा कृष्ण गुरुङले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको सुरुवातमै गोल खाएपछि दबाबमा परेको लेटाङले ३४औँ मिनेटमा बराबरी गोल फर्कायो। पृथ्वी चौधरीको पासमा अनुप मगरले गोल गर्दै खेललाई १-१ को स्थितिमा ल्याएका थिए। दुवै टोलीले थप अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो।
हारसँगै साविक विजेता लेटाङ पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगिताअन्तर्गत सोमबार सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी र टीडब्लूसीवाई विराटनगरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।