संरक्षण
खोला क्षेत्रको अतिक्रमण हटाएर सौन्दर्यीकरण अभियान
पोखरा। पोखराका जयप्रकाश थापाको बाल्यकाल फिर्के खोलामा पौडी खेल्दै र आसपासका क्षेत्रमा रमाउँदै बित्यो। खोलामा निर्मल पानी बग्थ्यो। उनी बालसखाहरूसँग मिलेर त्यहाँ माछा मार्थे।
बालापनमा फर्किंदा उनको स्मृतिमा फिर्के खोलासँग जोडिएका थुप्रै किस्सा आउँछन्, जुन अहिले कथा जस्तै बनेको छ। जति उनी हुर्किंदै गए, यो खोला अतिक्रमणमा परेर खुम्चिँदै गयो। उमेरले ४० कटेका जयप्रकाशले छोटो अवधिमै फिर्केको स्वरूपमा ठूलो परिवर्तन देखे। केही दशकको अन्तरालमै जयप्रकाशले देख्दादेख्दै खोला साँघुरियो, विरूप भयो। उनीपछिका पुस्ताका लागि फिर्केको अस्तित्व तीव्र सहरीकरणसँगै कंक्रिटका संरचनाबीच च्यापिएको प्रदूषित खोला बन्न पुग्यो।
कुनै बेला पौडी खेलेको र माछा मारेको खोला ढलमा परिणत भएको देख्दा जयप्रकाशको मन रुन्छ। “पहिले खोला सङ्लो बग्थ्यो, अलिअलि माछा पाइन्थ्यो। छेउछाउमा जंगल पनि थियो, चराचुरुंगी थिए। एकदम आनन्द लाग्थ्यो,” उनी भन्छन्, “हिउँदमा पनि खोलामा कलकल पानी आउँथ्यो। अहिले त बर्खामा मात्र पानी बग्छ, अरू बेला त ढल मात्र हुन्छ।”

तस्बिर : रिना थापा
पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अस्तित्व पोखरा महानगरपालिका-१८ अँधेरीकुनाबाट सुरु हुन्छ। वडा नम्बर १८ बाट सुरु भई अन्य सात वडा हुँदै बग्ने करिब आठ किलोमिटर लामो यो खोला फेवा तालमा मिसिन्छ। तीव्र सहरीकरण, खोला किनारमा बसेका बस्ती र खोलामा ढल फाल्न थालेसँगै यसको अस्तित्व संकटमा परेको अध्ययनले बताउँछ।
जयप्रकाशले २०५६ सालतिर एसएलसी दिएका हुन्। त्यसबेलासम्म पनि फिर्के खोलाको सुन्दरता कायमै थियो। २०५८ पछि भने एकाएक खोला साँघुरिँदै गयो। उसो त त्यसताका पोखरा सहर नै बेग्लै आकर्षणको थियो। पछि, सहरीकरणसँगै सहर साँघुरियो र फिर्के खोलाले पनि प्राकृतिक स्वरूप गुमायो।
पोखरा महानगरपालिकाले प्राविधिक टोली खटाएर फिर्के खोलाको अध्ययन गराएको थियो। ‘फिर्केखोलाको खोलाघर नापजाँच प्रतिवेदन, २०८०’ मा फिर्के खोला संकटमा रहेको र यसले फेवा ताललाई पनि असर पुर्याएको उल्लेख छ। अध्ययन प्रतिवेदनले खोला मिचेर १६० संरचना बनेको देखाएको थियो। खोला क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका ती संरचना हटाउने अभियान पोखरा महानगरले १० जेठदेखि सुरु गरेको छ। अवैध संरचनामा डोजर चलाएर खोलाको पुरानै प्राकृतिक स्वरूपमा फर्काउने पहल थालिएको छ।
महानगरले तीन स्थानमा एकैपटक डोजर लगाएर संरचना हटाउने काम सुरु गर्यो। जसमध्ये एक थियो पोखरा ७ र ८ को सिमाना जिरोकिमीमा रहेको लायन्स क्लबको भवन। जसलाई महानगरले १० जेठमै भत्काएको छ। वडा ८ मा रहेको लिटल स्टेप स्कुल पनि खोला क्षेत्रमा बनेको संरचना हो। जहाँ पहिले चउर थियो। साथीहरूसँग बाल्यकालमा त्यही चउरमा खेल्ने गरेको जयप्रकाश सम्झन्छन्। खोला क्षेत्रमा अतिक्रमण गरेर विभिन्न संघसंस्थाका भवन, घर, विद्यालय, प्रहरी तालिम केन्द्र र व्यक्तिका घर बनेका छन्। उनी भन्छन्, “संघसंस्थादेखि व्यक्तिहरूसम्मले खोला क्षेत्रको जग्गा मिचेर संरचना बनाए। कसैले एक रोपनी किन्ने अनि चार रोपनी बनाउने गरेर मिचे।”
महानगरको पहल
जयप्रकाश जस्तै फिर्के खोलामा पौडी खेलेर हुर्केका हुन् पोखरा-५ का वसन्त गिरी। फिर्केको आसपासमा निउरो खोज्न गएको याद छ उनलाई। सम्झना सुनाए, “हामी त फिर्के खोला र बुलौँदी खोलामा पौडी खेल्थ्यौँ। त्यतिबेला पानी स्वच्छ थियो। चिसो ठाउँ थियो पोखरा, मूल फुटिराख्थ्यो। फिर्के खोलाको आडमा निउरो पनि खोज्न जान्थ्यौँ।”
त्यससमय फराकिलो रहेको फिर्के खोलाको जग्गा सामाजिक संघसंस्थाको आड लिएर व्यक्तिहरूले हडप्दै जाँदा खोला साँघुरिएको वसन्त बताउँछन्। “अतिक्रमणसँगै सङ्लो पानी बग्ने फिर्केमा ढल र शौचालय मिसाएको देखियो,” उनी भन्छन्। उतिबेला स्थानीयहरू यस खोलाको पानी पिउनसमेत प्रयोग गर्थे।
वसन्त सम्झन्छन्, “हाम्रो हजुरबुबाले त चिसो पानीले मही मथ्दा घिउ बढी आउँछ भनेर खोलाबाट पानी ल्याउने गरेको सुनाउनुभएको थियो।”

उनले भनेका विषय २०८० सालको अध्ययन प्रतिवेदनले पनि उल्लेख गरेको छ। ‘करिब दुई दशकअघिसम्म फिर्के खोलामा सफा कञ्चन पिउनयोग्य पानी बग्ने गरेको अध्ययनले देखाउँछ। फिर्के कैपानीले मही मथेर नौनी निकाल्ने, नुहाउने, पौडी खेल्ने र बस्तुभाउलाई खुवाउन प्रयोग गर्ने गरेको पाका पुस्ताहरूको अनुभवले बताउँछ,’ प्रतिवेदनमा उल्लेख छ।
खोला क्षेत्र अतिक्रमण गरेर बनाइएका १६० संरचनामध्ये व्यक्तिका स्थायी संरचना ३५, अस्थायी प्रकृतिका संरचना ९७, विभिन्न संघसंस्थाका नाममा रहेका स्थायी संरचना १८ र अस्थायी १० वटा छन्। यी संरचना हटाएर महानगरले फिर्के खोला संरक्षण र सौन्दर्यीकरणको योजना अगाडि सारेको छ।
संरचना भत्काउन सुरु गरिएको पहिलो दिन १० जेठमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जालमा पोस्ट गर्दै नगरवासीसँग फिर्के करिडोर परियोजनाको सपना साटेका छन्। उनले लेखेका छन्, ‘फिर्के खोलाको दायाँ-बायाँ कम्तीमा ६ मिटर मापदण्ड कायम गर्दै व्यवस्थित फुटट्रेल, सुरक्षित साइकल लेन, मर्निङ तथा इभिनिङ वाकका लागि आकर्षक पदमार्ग निर्माण गरिनेछ। खोलाको प्राकृतिक बहाव संरक्षण गर्दै दुवै किनार हरियाली बेल्ट, रैथाने बोटबिरुवा, ढुंगे तटबन्ध, स्मार्ट एलईडी लाइटिङ तथा वातावरणमैत्री सार्वजनिक खुला क्षेत्रले सजाइनेछ।’

पोखरा महानगरका प्रमुख धनराज आचार्य।
२०८० सालमा अध्ययन प्रतिवेदन आएपछि महानगरले फिर्केको मापदण्ड ६ मिटर तोकेर अँधेरीकुनादेखि गाईघाटसम्म पोल गाड्ने काम पनि गरेको थियो। जुन विषय अदालतमा पुगेको थियो। कास्की जिल्ला अदालतले अन्तरिम आदेश जारी गरेपछि महानगरले आफ्नो काम रोकेको थियो। तर, पछि अदालतको फैसलाले बाटो खोलेपछि महानगरले काम अगाडि बढाएको हो।
खोला क्षेत्रमा व्यक्ति र संघसंस्थाबाहेक केही सुकुम्बासी परिवार पनि छन्। उनीहरूको व्यवस्थापन सम्बन्धित वडाले गरिरहेको मेयर आचार्य बताउँछन्।