काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

बेथिति

पोखरा महानगरले अस्थायी फोहोर व्यवस्थापन गरिरहेको निर्मलपोखरीको डाँडाबाट प्रदूषित पानी फुर्से खोलामा मिसिँदै

३ असार २०८३
पोखरा महानगरपालिकाले फोहोर विसर्जन गर्न प्रयोग गरेको निर्मलपोखरीको भिरालो जमिन। तस्बिर: रिना थापा
अ+
अ-

पोखरा। पोखरा महानगरपालिका-१७ की मधुमाया पौडेल घाँस काट्न फुर्से खोला तरेर वडा नम्बर २१ को निर्मलपोखरी क्षेत्रमा पर्ने खरच्याङ खहरेतर्फको डाँडामा जाने गर्छिन्। खोला तरेर उकालो लाग्दै गर्दा बीचमा मूलको पानी बग्ने सानो खोल्सो छ।

एकदिन उनले खोल्सामा पहेँलो-रातो पानी बगिरहेको देखिन्। “पहिले त रगत हो कि जस्तो लाग्यो। नजिक गएर हेर्दा ह्वास्सै दुर्गन्ध आयो। त्यहीँ उल्टी भयो,” मधुमाया भन्छिन्।

उनको घर डाँडाबाट ४०० मिटर जतिको दूरीमा छ। तर, हिजोआज दुर्गन्ध घरसम्मै पुग्छ। घाँस काट्न जाँदा त फोहोरको कडा गन्धले बिरामी नै परिएला जस्तो लाग्न थालेको उनको भनाइ छ।

पोखरा-१७ की स्थानीय लक्ष्मी गिरीको अनुभव पनि त्यस्तै छ। उक्त स्थानमा पोखरा महानगरपालिकाले अव्यवस्थित रूपमा फोहोर फाल्दा पानीको स्रोत दूषित भएको उनले बताइन्। उनका अनुसार दूषित खोल्साको पानी फुर्से खोलामा मिसिन्छ। नजिकैको बस्ती दोबिल्लाबाट गर्मी याममा पौडी खेल्नेहरू फुर्से खोला पुग्छन्। खोला केही तल पुगेर सेती नदीमा मिसिन्छ।

गुगल अर्थबाट देखिएको फुर्से खोला। तस्बिर स्रोत : गुगल अर्थ

२०५१ सालदेखि दोबिल्लामा बस्दै आएका होमबहादुर मगर खरच्याङ खहरेस्थित खोल्साको पानी दूषित हुँदा स्थानीयलाई समस्या परेको बताउँछन्। “खोल्सामा फोहोरको लेदो बगिरहेको हुन्छ। पानी पर्दा त झन् बिजोग हुन्छ,” उनी भन्छन्, “त्यही फोहोर पानी सबै खोलामा मिसिन्छ। पौडी खेल्नेदेखि खानेपानीका उपभोक्तासम्मलाई यसको असर परेको छ।”

दोबिल्लाका स्थानीय व्यवसायी अशोक तामाङका अनुसार त्यस क्षेत्रका केही व्यवसायी पहिले सोही क्षेत्रको पानी पिउनका लागि प्रयोग गर्थे। “हामीले पानी ल्याइरहेको मूलको छेउमा फोहोर फ्याल्न थालियो। त्यहाँ फोहोरको फिँजले छुट्टै खालको तह बन्न थालेको छ,” उनी भन्छन्। त्यहाँ महानगरले फोहोर फ्याँक्न थालेपछि अहिले खानेपानीका लागि त्यसभन्दा माथिको स्रोत उपयोग गरिएको उनको भनाइ छ। त्यस क्षेत्रमा एकभन्दा बढी ठाउँमा पानीको मूल रहेको उनी जानकारी दिन्छन्। भन्छन्, “मूलको पानी बग्ने खोल्सामै फोहोर फालिएको छ। त्यहाँबाट फोहोर बगेर खोलामा मिसिन्छ भन्ने थाहा हुँदाहुँदै फालिएको हो।”

महानगरको स्वीकारोक्ति

पोखरा महानगरपालिकाका सहरी विकास, पर्यटन, वन तथा वातावरण महाशाखा प्रमुख इन्जिनियर विमलरञ्जन कार्की फोहोर फालिएको क्षेत्रमा पानीको स्रोत रहेको स्विकार्छन्। तर, फोहोर सिधै पानीको स्रोत वा खोलामा नजाओस् भन्नेमा महानगर सचेत रहेको कार्कीको दाबी छ।

कार्की भन्छन्, “मूल भएको ठाउँमा दुई वटा भेग छन्। ठूलो मूल भएकोतिर फोहोर फालेका छैनौँ। सानो मूलतिर फोहोर व्यवस्थापन भइरहेको छ।” त्यहाँ पानी पर्दा मूल खुले जस्तो लागे पनि तलसम्म बग्ने पानी नभएको उनको भनाइ छ।

“सानो मूलको पानीलाई स्रोतस्थलमै पाइपमार्फत इन्टेकमा ल्याउने काम भइरहेको छ,” उनी भन्छन्, “त्यस क्षेत्रबाट निस्कने फोहोर पानी वा खोलामा सिधै नमिसियोस् भनेर छुट्टै व्यवस्थापन गरिएको छ।”

तर, पानी बगेर फुर्से खोलासम्म पुगिरहेको स्थानीय बताउँछन्। गुगल अर्थबाट विभिन्न समयमा लिइएको तस्बिरमा पनि खोल्साबाट पानी बगेको देखिन्छ।

लेदो मिसिएको पानी बग्ने खोल्सो। तस्बिर स्रोत : गुगल अर्थ

महानगरले उक्त स्थानमा फोहोर फाल्नुअघि विस्तृत अध्ययन नगरेको पनि उनको स्वीकारोक्ति छ। प्रारम्भिक अध्ययन मात्र गरिएको र त्यसले एक वर्षसम्म फोहोर व्यवस्थापन गर्न सकिने देखाएको कार्की बताउँछन्।

उनी भन्छन्, “प्रारम्भिक अध्ययन मात्र गरिएको हो। क्षति न्यूनीकरणका उपायबारे पनि कुराकानी भएको छ। अध्ययनले एक वर्ष भनेको थियो। तर, अहिले जुन हिसाबले फोहोर व्यवस्थापन भएको छ, त्यसले अब तीनचार महिना मात्र पुग्छ।”

पानीको स्रोत रहेको क्षेत्रमा फोहोर व्यवस्थापन गर्दा हुने जोखिमबारे महानगरसँग अस्थायी र स्थायी दुवै नीति रहेको कार्की बताउँछन्। “महानगरको दुई वटा नीति छ– अस्थायी र स्थायी,” उनी भन्छन्, “हामी स्थायी व्यवस्थापनमा जानैपर्ने हो। त्यसमा प्रशोधन केन्द्र नै हुन्छ। त्यो नबन्दासम्म अस्थायी व्यवस्थापनमा हामीले सोचे जस्तो गर्न नसकेको अवस्था हो।”

फोहोर फालिएको स्थान भिरालो छ। महानगरले फोहोर माटोले पुर्ने बताए पनि धेरै ठाउँमा खुला नै छाडिएको देखिन्छ। कार्कीका अनुसार ड्याम समयमै बनाउन नसक्दा भिरालो ठाउँमा फोहोर पुर्न कठिन भएको हो।

“निर्माणको काम पछाडि र फोहोर व्यवस्थापनको काम अगाडि हुँदा समस्या आएको हो। हामीले हेलचेक्र्याइँ गरेका छैनौँ,” उनी भन्छन्, “केमिकलले डिस्इन्फेक्सन गर्ने, माटोले पुर्ने र पानीका स्रोत संरक्षण गर्ने काम भइरहेको छ।”

वातावरणीय जोखिम

महानगरको दाबीअनुसार संरक्षण नभएको स्थानीय र विज्ञहरूको गुनासो छ। उनीहरूका अनुसार फोहोरबाट निस्किएको लेदो र दुर्गन्धले पानी, माटो र वातावरणमा असर गरिरहेको छ।

वातावरणविद् कुशल गुरुङ भन्छन्, “मूल वा खहरे खोलामा फोहोर पर्‍यो भने प्रदूषण त भइहाल्यो। अझ हेभी मेटल, औषधीय पदार्थ र विषादी भएमा त्यसले माटोदेखि पानी र पर्यावरणसम्म असर गर्छ।”

फोहोर फालिएको भिरालो जमिन। तस्बिर : रिना थापा

महानगरले कुहिने र नकुहिने नछुट्याई मिश्रित फोहोर डम्पिङ क्षेत्रमा फ्याँक्दा थप प्रदूषण हुने जोखिम रहेको उनको भनाइ छ।

“फोहोर पानीसँग जोडिनै हुँदैन। त्यसैले मूलको नजिक फोहोर व्यवस्थापन गर्ने कुरा नै गलत हो। त्यसले जलीय प्रणालीलाई असर गर्छ। कसैले पिउन वा खेतीका लागि त्यही पानी प्रयोग गरेको हुन सक्छ। फोहोरको सम्पर्कमा आएको पानीले चाहिनेभन्दा बढी लेउ बनाउँछ, उर्वरता घटाउँछ।”

दोहोरिएको समस्या

पोखरा महानगरपालिकाले अव्यवस्थित रूपमा फोहोर फालेको यो पहिलो घटना होइन। यसअघि पोखरा-३२ लामेआहालमा महानगरले फोहोर फालेको थियो। जसकारण त्यहाँको विद्यालय नै सार्नुपर्ने अवस्था आएको थियो।

फोहोर व्यवस्थापनमा लगातार समस्या देखिए पनि महानगरले दीर्घकालीन समाधान खोज्न सकेको छैन।

गुरुङका अनुसार फोहोर व्यवस्थापनको स्थायी प्रणाली विकास नगरी खाली ठाउँ वा भिरालो जमिनमा फोहोर फाल्ने सोचले समस्या दोहोरिएको हो।

“महानगरभरि जति भिर छन्, त्यतातिर लगेर फोहोर फाल्ने अनि एकातिर पर्खाल लगाएर टाल्ने र पुर्ने सोच देखिन्छ,” उनी भन्छन्, “यो समस्या समाधान गर्ने दीर्घकालीन तरिका होइन। फोहोर व्यवस्थापनको स्थायी प्रणाली तयार गर्न महानगरले ढिला गर्नु हुँदैन।”