काठमाडौँ
००:००:००
५ असार २०८३, शुक्रबार

सेयरबजार

४.९९ अंकले नेप्से बढ्दै २७८२.१० विन्दुमा रोकियो

१३ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज (बुधबार) नेप्से एकल अंकले बढेको छ। नेप्सेसँगै कारोबार रकम पनि बढेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार ४.९९ अंकले बढेको छ। मंगलबार ९.२४ अंकले घटेको नेप्से सोमबार भने २८.८५ अंकले बढेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.१७ प्रतिशतले बढेको नेप्से २७८२.१० विन्दुमा रोकिएको छ।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १.२१ अंकले बढेर ४७५.५१ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.२५ प्रतिशतले बढी हो। यस्तै फ्लोट इन्डेक्स ०.२२ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२६ प्रतिशतले बढेको छ।

सेयरबजारमा बुधबार ३५४ कम्पनीको ६० हजार ५६२ पटकको कारोबारमा एक करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार ६ अर्ब तीन करोड ६४ हजार ८४० रुपैयाँको कारोबार भयो।

मंगलबार चार अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० रुपैयाँको कारोबार भएको थियो भने सोमबार पाँच अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० रुपैयाँको कारोबार भएको थियो।

सेयर बजारमा आज १५१ कम्पनीका सेयरमूल्य बढे। १०५ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १४ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (बुधबार) १३ समूहका कारोबार भएकामा नौ समूहका सूचक बढे। यसैगरी चार समूहका सूचक भने घटेका छन्।

जसअनुसार बुधबार वाणिज्य बैंक ०.२७ र विकास बैंक समूहको सूचक ०.१३ प्रतिशतले बढ्यो। फाइनान्स ०.३८ र होटेल तथा पर्यटन समूहको सूचक ०.२४ प्रतिशतले ओरालो लाग्यो।

यस्तै जलविद्युत् ०.०६‚ लगानी ०.५८ र जीवन बिमा समूहको सूचक ०.६८ प्रतिशतले उकालो लाग्यो। उत्पादन तथा प्रशोधन समूहको सूचक भने ०.४३ प्रतिशतले घट्यो।

यस्तै लघुवित्त ०.२९‚ म्युचुअल फन्ड ०.३९ र निर्जीवन बिमा समूहको सूचक ०.५४ प्रतिशतले बढे। यस्तै अन्य समूहको सूचक ०.३० प्रतिशतले ओरालो लाग्दा व्यापार समूहको उपसूचक भने ०.७३ प्रतिशले उकालो चढ्यो।

नेप्सेमा बुधबार पनि कालिन्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९८ प्रतिशतले आम्दानी गरे। कालिन्चोकका लगानीकर्ताले मंगलबार ९.२३ प्रतिशतले आम्दानी गरेका थिए। यसैगरी सानिमा डिबेन्चरका लगानीकर्ताले ६.६४ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा आज पनि आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। बुधबार आँखुखोलाको ७१ करोड २२ लाख ३३ हजार ६३२ रुपैयाँको कारोबार भयो। मंगलबार आँखुखोलाको ४६ करोड ७२ लाख ६३ हजार ९२५ रुपैयाँको कारोबार भएको थियो भने सोमबार ६० करोड २० लाख १४ हजार ४०४ रुपैयाँको कारोबार भएको थियो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा पनि आज आँखुखोला नै अगाडि रह्यो। बुधबार यसको १६ लाख ३५ हजार ६०६ रुपैयाँको सेयर किनबेच भयो। मंगलबार यसको ११ लाख १८ हजार २२ रुपैयाँको सेयर किनबेच भएको थियो भने सोमबार यसको १४ लाख ५१ हजार ९९५ रुपैयाँको सेयर किनबेच भएको थियो।

यसको आज अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ४३९ रुपैयाँ कायम रह्यो।