काठमाडौँ। एसिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको छ।
भारतले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६७ रन मात्र बनाउन सक्यो।
यसअघि टस हारेर ब्याटिङमा आएको भारतले २० ओभरमा ८ विकेट गुमाउँदै १८८ रनको चुनौतीपूर्ण योगफल बनाएको थियो। भारतका लागि सञ्जु स्यामसनले ४५ बलमा ५६ रन बनाउँदै अर्धशतक प्रहार गरे। त्यस्तै, अभिषेक शर्माले १५ बलमा ३८ रनको आक्रामक योगदान दिए भने तिलक वर्माले १८ बलमा २९ रन जोड्दै पारी सन्तुलित बनाए।
जवाफी ब्याटिङमा ओमानका आमिर कलिमले ६४ रन प्रहार गरे भने हम्माद मिर्जाले ३३ बलमा ५१ रनको अर्धशतक बनाए। त्यसैगरी जतिंदर सिंहले ३३ बलमा ३२ रन जोडे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।
यससँगै एशिया कपको समूह चरण सम्पन्न भएको छ। समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलंका र बंगलादेश सुपर फोरमा प्रवेश गरेका छन्। सुपर फोर चरण आजदेखि सुरु हुँदैछ, जसअन्तर्गत पहिलो खेलमा श्रीलंका र बंगलादेश आमनेसामने हुनेछन्।