काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

दृष्टिकोण

आमजनताका आवश्यकताका तह नपहिल्याइ गरिने विकासको भाषणबाजीले देश थप गरिब हुँदै जाने र जनतामा वितृष्णा बढ्ने खतरा हुन्छ। अहिले भइरहेको पनि त्यही हो।

१७ भाद्र २०८२
अ+
अ-

कुनै व्यक्तिविशेषको दिवास्वप्नले देश निर्माण पूरा हुँदैन। यसका आफ्नै चरण र त्यसका निर्दिष्ट रणनीति हुन्छन्। भौगोलिक दृष्टिकोणले त देश भनेको एउटा भू-राजनीतिक सीमाभित्र आबद्ध भूमि मात्र हुन्छ भने अन्य सामाजिक, आर्थिक र सांस्कृतिक दृष्टिले देश भनेको सीमित सीमाभन्दा धेरैथोक हुन्छ।

राष्ट्र बनाउन जहिले पनि योजनाको महत्त्वपूर्ण भूमिका हुन्छ। योजना निर्माण तथा कार्यान्वयनका लागि असल एवं उत्कृष्ट शैक्षिक स्तर चाहिन्छ। नेपालमा राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ लागू भएपछि मात्र यस क्षेत्रलाई अन्तर्राष्ट्रिय मानकका आधारमा योजनाबद्ध ढंगले विकास गर्ने जमर्को गरेको पाइन्छ। त्यसअघि स्कुल, कलेज र विश्विद्यालय त थिए तर तिनका आ-आफ्नै सोच र स्वाद थिए। २०२८ सालदेखि तिनलाई एउटै स्वाद र सूत्रमा आबद्ध गरियो। यही काललाई नेपालको योजनाबद्ध शिक्षा नीति अख्तियारी काल मान्नुपर्छ।

त्यो कार्यक्रम हामीले अमेरिकी सहयोगमा नेपाल प्रवेश गराएका थियौं। त्यसउप्रान्त कहिले सहयोगमा र कहिले ऋणमा नेपालमा शिक्षा क्षेत्रको पुनर्निर्माण, पुनर्गठन , पुनर्ताजगी वा पुनर्संरचनीकरण हुने गरेको छ। अहिले पनि त्रिभुवन विश्वविद्यालयले जे पढाइरहेको छ, त्यो उच्च शिक्षा परियोजनाअन्तर्गत विश्व बैंकको १ अर्ब ९९ करोड ऋणमा निर्मित पाठ्यक्रम र शैक्षिक कार्यक्रमकै निरन्तरता हो। यो परियोजना मुलुकको शैक्षिकस्तर कायम गर्नेतर्फको कदम त थियो होला तर यसले शिक्षामा हाम्रो मौलिकता खाइदियो, परनिर्भरता बढाइदियो।

अहिलेसम्म शिक्षा क्षेत्रमा गरिएको सरकारी लगानीबाट जति र जस्तो प्रतिफल पाइनु पर्ने हो, राष्ट्रले पाएको छैन। यसको मुख्य कारण हाम्रो आवश्यकताको पहिचान नहुनु हो। मान्छेको आवश्यकताबारे अमेरिकी मनोवैज्ञानिक एएच मास्लो भन्छन्: मानवीय आवश्यकताहरू तहगत ढंगले निर्माण हुन्छन्। मान्छे क्रमैसँग ती आवश्यकता पूर्ति गर्नेतर्फ उत्प्रेरित हुन्छ।

ठीक यसैगरी राष्ट्रका आवश्यकताका पनि निश्चित तह हुन्छन्। तिनलाई तहगत ढंगले नै पूरा गर्दै जानुपर्छ। सबै तहमा एकै पटक हात हाल्नु भनेको योजनाविहीन हुनु हो। जस्तो कि, अहिले कुनै स्नातकोत्तर उत्तीर्ण गर्ने नेपालीले शुद्धसँग आफ्नै राष्ट्रभाषा नेपाली लेख्न जान्दैन, जान्न जरूरी पनि ठान्दैन र त्यसमा उसलाई लाज पनि छैन भने हाम्रो वर्तमान शिक्षाको स्तर कस्तो होला ? हामी अनुमान गर्न सक्छौं।

त्यसकारण पनि तहगत आवश्यकताको पूर्तिले मात्र देशको सर्वाङ्गीण विकास हुन सक्छ भन्ने आग्रहका साथ यो आलेख तयार गरिएको हो।

आवश्यकताका तह

एएच मास्लोको ‘होलिस्टिक डायनामिक थ्योरी’ले मानवीय उत्प्रेरणा एक तहको आवश्यकता पूर्ति भएपछि अर्को तहमा प्रवेश हुने परिकल्पना गरेको छ। मास्लोले मान्छेमा गरेको यो अध्ययनलाई नै आधार मानेर देशका आवश्यकताका तहहरू पनि निर्धारण गर्न सकिन्छ। एकै पटक सबै तहमा उत्तिकै ऊर्जा लगानी गर्नु हुँदैन। कुनै बेला एक समयमा एकभन्दा बढी काम र कुनै बेला एउटा समयमा एउटा मात्र काम गर्नुपर्ने हुन्छ। यी परिस्थितिजन्य हुन्छन्। योजनाविद् र कार्यान्वयन गर्ने अधिकारीले सजग र चलाख हुनुपर्ने यहीँनेर हो।

आवश्यकता तहको विस्तारित रूप

तह – १ : आपत‍्कालीन आवश्यकता:

क. सार्वभौमसत्ता, रक्षा र सुरक्षा

ख. खाना, पानी, स्वास्थ्य र आवास

ग. पूर्वाधार विकास

घ. ऐन, कानुन

तह – २ : अनिवार्य आवश्यकता:

क. शिक्षा र रोजगारी

ख. उद्योग तथा व्यापार

ग. संस्कृति र परम्परा

तह – ३ : सामान्य आवश्यकता:

क. राजनीतिक स्वतन्त्रता

ख. विचार, सञ्चार र प्रकाशन

ग. स्वतस्फूर्त सीप

घ. मानव अधिकार

तह – ४ : विशिष्ट आवश्यकता:

क. पर्यटन र खेलकुद

ख. गोष्ठी, भ्रमण र मेला

तह – ५ : सौखिन आवश्यकता:

क. महोत्सव, होटल र मधुशाला

ख. सौन्दर्य प्रतियोगिता र फेसन सो

तहको औचित्य

एउटा देशका लागि माथिका पाँचवटै आवश्यकता महत्त्वपूर्ण हुन्छन्। सबैलाई पूरा गर्नुपर्छ अनिमात्र त्यो वास्तविक राष्ट्र बन्छ। राष्ट्रको दायित्व आमजनताका अपरिहार्य माग क्रमशः पूरा गर्दै जानु हो। तर नेपालजस्तो गरिब देशले सबै माग एकैपल्ट पूरा गर्न पनि सक्तैन। यस्तो चेष्टा गर्नु उचित पनि होइन।

त्यसैले क्रमैसँग पूरा नगरी नहुने मागलाई पहिलो प्राथमिकता दिएर अरू माग पनि योजनबद्ध ढंगले पूरा गर्न तहगत अवधारणालाई अघि सारिएको हो।

यहाँ एउटा तहमा प्रवेश भइसकेपछि त्यसभित्र पर्ने सबै कार्यको बृहत् योजना तर्जुमा गरी पुनः त्यसभित्रको सानोमसिनो कामसमेतलाई प्राथमिकीकरण गर्दै अघि बढ्न जरुरी हुन्छ। अनि प्राथमिकताका आधारमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति निर्माण गरी माग पूरा गर्दै जानुपर्छ। उल्लेखित तहहरूलाई कालखण्डका रूपमा विभाजन गर्नुपर्छ, कठमुल्लावादी बनेर होइन।

योजनाको कालखण्ड

माथिका तहलाई चार प्रमुख खण्डमा विभाजन गर्नुपर्छ। पहिलो खण्डमा तह ४ र ५ पर्दछन्। यी खण्ड पूरा गर्न दीर्घकालीन योजना बनाउनु पर्दछ, जसको अवधि कम्तीमा ३० वर्षको हुनुपर्दछ।

दोस्रो खण्डमा तह ३ पर्छ, जसको अवधि कम्तीमा २० वर्षको हुनुपर्छ।

तेस्रो खण्ड तह २ मध्यकालीन योजनाका लागि हो, यसको अवधि १० वर्षको हुन्छ। चौथो खण्ड तह १ हो, जसको अवधि एकदेखि पाँच वर्षसम्मको हुनुपर्दछ।

चार खण्डमा बाँडिएका योजनालाई दीर्घ, मध्य र अल्पकालसँगै वार्षिक खुड्किलाहरू तय गरी योजना बनाइनु पर्छ। योजना निर्माणमा अभियान, उद्देश्य, लक्ष्य, रणनीति र कार्यक्रम वा गतिविधि निश्चित हुनु पर्दछ। अभियान हाम्रो राष्ट्रिय नीतिद्वारा निर्देशित हुन्छ भने उद्देश्यले लक्षित प्रतिफल देखाँउछ। लक्ष्य भनेको खुड्किलो हो, यसले तलमाथि भएका बेला सुधार गर्न सहयोग गर्छ। रणनीति तमाम काम सम्पन्न गर्न अङ्गीकार गरिने नीति, कार्यक्रम, ऐन, नियम तथा सूक्ष्म रूपमा तयार पारिएको कार्ययोजना हो। कार्यक्रम वा गतिविधि भन्नाले उपर्युक्त नीति नियम पालन गरेर सम्पन्न गरिने कामहरू बुझ्नु पर्दछ।

कार्यान्वयन पक्ष

योजना आफैंमा केही पनि होइन। योजनाको सफलता वा असफलता त कार्यान्वयनमा निर्भर हुन्छ। योजना मुताबिक काम गर्ने-गराउने निकाय अनुकूल र निर्देशनग्राही चाहिन्छ। निर्देशनको पालना अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील हुन्छ।

योजना निर्माणमा तय अभियान, उद्देश्य, लक्ष्य, रणनीति र कार्यक्रमको इमान्दारीपूर्वक कार्यान्वयन भएन भने जति आकर्षक कार्यक्रम घोषणा गरिए पनि उपलब्धि नकारात्मक हुन्छ। त्यसैले कार्यान्वयनमा यथार्थ एवं वस्तुपरक सोच नितान्त आवश्यक हुन्छ। योजनाका प्रत्येक खुड्किलालाई काममा ढाल्दा मर्म नबिग्रिने कुरामा जति सचेत रहनुपर्छ, त्यति नै त्यसबाट प्राप्त हुने उपलब्धिप्रति पनि।

कार्यान्वयन गर्ने निकाय, त्यसको संगठनको स्वरूप, जनशक्ति र सीपको तहलाई आवश्यक पर्ने साधन, नियम कानुन स्थापित मानक र नियन्त्रण तथा नियमन निकाय आदि कार्यान्वयनका महत्त्वपूर्ण अङ्ग हुन्। ती सबैको उत्तिकै हासियारीपूर्वक व्यवस्थापन गर्नु जरुरी हुन्छ।

कार्यान्वयनमा कामलाई क्रमबद्ध राख्नु र सञ्जाल तयार गर्नु जरुरी हुन्छ। सबै कामको कार्य विभाजन तालिका तयार पारेर उत्तरदायित्व बहन तालिका निर्माण गर्नु पर्दछ। यसबाट कुन काम कसको जिम्मेवारीमा छ र को केका लागि जवाफदेही छ भन्ने समेत थाहा हुन्छ। कामको नियन्त्रण र अनुगमन गर्ने यी सरल तथा प्रभावकारी उपाय हुन्।

देश बचाउने प्रस्ताव

शिक्षा र सीप नै ती तत्त्व हुन्, जसले राष्ट्रलाई निर्दिष्ट दिशातर्फ डोर्‍याँउछन्, समृद्ध पार्छन्। यिनको अभावमा जति धन खर्चिए पनि, शक्ति जुटाए पनि उन्नतिको सही बाटो पकड्न सकिँदैन। योजना र रणनीति अभावमा शिक्षा र सीपले पनि केही काम गर्न सक्तैनन्।

तहगत कार्यनीति भनेको मेलैसित काम सम्पन्न गर्दै जाने अभियान हो। क्रमबद्ध विकासको बाटो हो। पाँचवटा तह एकपटक पार गरेर हेरियो भने थाहा पाउन सकिन्छ नेपाल कहाँ छ भनेर। यसका लागि अधिकतम् ३० वर्षभन्दा बढी समय लाग्दैन। एउटा देश बनाउने अभियानका लागि ३० वर्ष लामो समय होइन।

देश बिसञ्चो छ। राजनीतिकर्मीहरू बिरामी छन्। यहाँ कसैको इमानप्रति कसैलाई विश्वास छैन। त्यसकारण पनि यो रोगी देशको उद्धार र उपचार गर्ने प्रस्ताव हो। अशान्त देश र अशान्त मनको दीर्घशान्तिको प्रस्ताव हो। खाँचो छ त दृढ इच्छाशक्ति भएको इमानन्दार नेतृत्वको।