काठमाडौं। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विनाअधिसूचना लामो समयदेखि सम्पर्कविहीन रहेका निजामती कर्मचारीलाई आगामी तीन दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।
मन्त्रालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र हाजिर हुन अन्तिम अल्टिमेटम दिएको हो।
मन्त्रालयका अनुसार अध्ययन बिदा तथा असाधारण बिदा लिएका तर त्यसको अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नगराई बेपत्ता भएका कर्मचारीहरूलाई लक्षित गरी यो सूचना जारी गरिएको हो।
आगामी तीन दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक नगराए कानुनबमोजिम कडा कारबाही प्रक्रिया अघि बढाउने चेतावनी मन्त्रालयले दिएको छ।
सरकारले सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई समेत आफ्नो मातहतका निकायबाट विभिन्न समयमा अध्ययन वा असाधारण बिदा स्वीकृत गराएका कर्मचारीहरूको विवरण तत्काल यकिन गर्न निर्देशन दिएको छ।
लामो समयसम्म बिदाका नाममा कार्यालयमा अनुपस्थित हुने र सरकारी सेवा सञ्चालनमा बाधा पुर्याउने प्रवृत्ति बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।