काठमाडौँ। प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री वालेन्द्र शाहले यही १९ जेठमा सम्बोधनकै क्रममा दिएको अभिव्यक्तिप्रति असहमति जनाएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरुलाई बोल्न समय दिएका थिए।
सांसदहरुले सीमासम्बन्धी उक्त अभिव्यक्ति अभिलेखबाट हटाइनुपर्ने मागसमेत बैठकमा राखेका छन्। बैठकमा सांसद पद्माकुमारी अर्यालले प्रधानमन्त्री शाहको सीमासम्बन्धी उक्त अभिव्यक्ति अभिलेखबाट हटाउन माग गरिन्।
विसं २०७७ मा लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई नेपालको नक्सामा राख्ने विषयमा राष्ट्रिय सहमति जुटेको उनले स्मरण गरिन्। यसैगरी, बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरु सन्तोष सुब्बा, हर्कराज साम्पाङ राई, वर्षमान पुन, ज्ञानेन्द्रबहादुर शाहीलगायतले करका दर फेरबदल गरिएको, भन्सारलाई मिलाएर चीनबाट गाडी आयातमा अनियमितता भएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएको विषयप्रति छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्नेमा जोड दिए।