काठमाडौँ
००:००:००
२९ जेष्ठ २०८३, शुक्रबार

२९ जेष्ठ २०८३
अ+
अ-

नवलपुर। नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवन र सिसेनी क्षेत्रमा हावाहुरीसहितको वर्षाले भित्राउने तयारीमा रहेको धानबालीमा ठूलो क्षति पुर्याएको छ।

मंगलबार आएको हावाहुरीका कारण बगुवन र सिसेनी क्षेत्रमा ६३ घरपरिवार प्रभावित भएका छन् भने काटेर भित्र्याउने तयारीमा रहेको चैते धान खेतमै भिजेको छ।

बगुवन क्षेत्रमा विगत ५० वर्षदेखि बसोबास गर्दै आएकी मिना विकले खेतमा काटेर भित्राउने तयारीमा राखेको धान भिज्नुका साथै हावाहुरीले घरको छाना उडाउँदा धान, चामल र लत्ताकपडा समेत भिजेको बताइन्।

“पाँच कठ्ठामा लगाएको धान काटेर मुठा पार्दै गर्दा एक्कासि हावाहुरीसहित पानी पर्यो,” उनले भनिन्, “खेतमा धान जसोतसो कुन्यु लगाएर घर पुगेँ, घरमा पनि हावाले टिनको छाना उडाइदियो। धन्न ज्यान जोगियो।”

जिल्ला कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ संजय ढकालका अनुसार बगुवन क्षेत्रमा करिब सात बिघा क्षेत्रफलमा काटेर राखिएको धानमा क्षति पुगेको छ। अधिकांश किसानले धान भित्र्याइसके पनि करिब ३० प्रतिशत धान अझै खेतमै रहेकाले त्यसमा क्षति पुगेको उनले बताए।

त्यस्तै, सिसेनी क्षेत्रमा करिब ५ बिघा क्षेत्रफलमा काटेको पचास प्रतिशत क्षती भएको छ भने पैतिस बिघामा नकाटिएको धानबाली असिनापानीका कारण प्रभावित भएको ढकालले जानकारी दिए।

विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीका अनुसार मंगलबार आएको हावाहुरीका विस लाख बराबरको क्षति पुगेको अनुमान गरिएको छ।

यहाँको सिसेनीमा २३, बगुवनमा ४०, ज्योगीकुटीमा १ र तल्लो ज्यामिरे ७ र पुरानो वस्तीमा २ गरी ७३ घरपरिवार प्रभावित भएका छन्। प्रभावित परिवारको घरका छाना उड्नुका साथै अन्नपात, लत्ताकपडा र अन्य सामग्रीमा समेत क्षति पुगेको छ।

गाउँपालिकाले क्षतिको विवरण संकलन गर्दै आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने तयारीमा रहेको उनले बताए।