काठमाडौं। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले २० हजार क्याप्सुल ट्रामाडोलसहित तीन जनालाई शनिबार पक्राउ गरेको छ।
ब्युरोका अनुसार बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२९ च ९२०१ नम्बरको सुजुकी कारले प्रहरीले रोक्न दिएको संकेत अटेर गरेपछि ललितपुर महानगरपालिका–२८ हरिसिद्धिमा हवाई फायर गरी नियन्त्रणमा लिइएको हो। उक्त कारलाई बा.प्र.०२–०५६ प ४७६५ नम्बरको मोटरसाइकलले एस्कर्ट गरिरहेको थियो।
कारको खानतलासी गर्दा ड्यासबोर्डभित्र लुकाइ राखिएको अवस्थामा २० हजार क्याप्सुल ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ। घटनामा प्रयोग भएका कार, मोटरसाइकल र चार थान मोबाइल फोन पनि बरामद गरिएको छ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान तथा भारतको बिहार राज्य सीतामढी जिल्लाका ३१ वर्षीय अहमद लड्डन र ३२ वर्षीय महमद रेहान रहेका छन्।
उनीहरूमाथि लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।