काठमाडौँ। चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच प्रतिनिधिमण्डस्तरीय भेटवार्ता हुँदैछ।
बेइजिङमा स्थानीय समयानुसार आज अपराह्न ५ः४५ बजे हुने द्विपक्षीय वार्तामा उनीहरुबीच नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले आजै चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने तालिका छ। उनी चीनको विदेश मामिला मन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङको सौहार्दपूर्ण निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुगेका हुन्।
परराष्ट्रमन्त्री खनाल आइतबार उनको सम्मानमा बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तरक्रिया गरेको मन्त्रालयले जनाएको छ। कार्यक्रममा उनले वर्तमान सरकारका प्राथमिकताहरू सुशासनको संस्थागत विकास, आर्थिक विकास तथा समृद्धिमा केन्द्रित रहेको उल्लेख गरेको दूतावासले जनाएको छ।
साथै उनले नेपाली समुदायलाई मुलुक समृद्धिको अभियानमा सहभागी हुन पनि आह्वान गरेका थिए।