काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पछिल्लो तीन महिनामा मात्रै एक हजार ४५२ सहकारी बचतकर्ताको रकम फिर्ता गरिएको बताएकी छन्।
प्रतिनिधिसभामा बुधबार विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले पछिल्लो तीन महिनामा आठवटा समस्याग्रस्त सहकारीका रुजु भएका १० हजार वा त्यसभन्दा मुनिका एक हजार ४५२ साना बचतकर्ताको ५९ लाख चार हजार ६०० रुपैयाँ बचत फिर्ता गरिएको जानकारी दिइन्।
साथै तीन महिनामा तीन करोड ५४ लाख ४९ हजार रुपैयाँ ऋण असुली भइसकेको उनले बताइन्। उक्त रकम सम्बन्धित संस्थाका सञ्चालक, व्यवस्थापक, लेखा समिति, ऋण उपसमिति पदाधिकारी तथा निजहरूको एकाघर परिवारका सदस्यहरूको सम्पत्ति र बैंक खाता रोक्का र सहकारी संस्थाको सम्पत्तिबाट व्यवस्थापन गरिएका मन्त्री रावलले जानकारी दिइन्।
उनले सहकारीको क्षेत्रमा भएको बेथितिसम्बन्धी अध्ययन गर्न गठित आयोगले समेत विगतका वर्षमा प्रभावकारी अनुगमन र नियमनको अभाव तथा भावी कार्यक्षेत्र विस्तार सेवा केन्द्रको थप विषय औँल्याएको उल्लेख गरिन्।
उनले वर्तमान सरकारले यस समस्याको दीर्घकालीन समाधान तथा बचतकर्तालाई यथाशीघ्र राहत उपलब्ध गराउने उद्देश्यका साथ काम अगाडि बढाइसकेको जिकिर गरिन्।
समस्याग्रस्त सहकारी मात्र नभई देशका अन्य सहकारीको प्रभावकारी अनुगमन कार्य पनि चाँडै सुरु गर्न लागिएको उनको भनाइ छ। मन्त्री रावलले निजामती कर्मचारीको उमेर हदका सम्बन्धमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मस्यौदा रायका लागि कानुन मन्त्रालयमा पठाइएको पनि जानकारी दिइन्।