काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्ने बताएका छन्।
संसद्मा बिहीबार विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले जलविद्युत् आयोजना कब्जा गर्ने गरी हुँदै आएको ‘झोलामा खोला’को प्रवृत्ति अन्त्य गरेरै छाड्ने बताएका हुन्।
वास्तविक लगानीकर्तालाई सहजीकरण गर्न मन्त्रालय सधैँ प्रतिबद्ध रहेको भन्दै उनले निजी क्षेत्रमैत्री हुँदाहुँदै पनि सुशासनका सन्दर्भमा केही निर्मम बन्नुपर्ने अवस्था आएको धारणा राखे।
मन्त्री श्रेष्ठले यस आर्थिक वर्षको अन्त्यसम्म ६६ केभी र सोभन्दा माथिका प्रसारण लाइन करिब सात हजार ४८ सर्किट किलोमिटर सम्पन्न हुने अनुमान गरिएको बताए। आगामी आवमा करिब आठ सय सर्किट किलोमिटर थप निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ।
उनले आन्तरिक तथा अन्तरदेशीय प्रसारण लाइन र वितरण लाइन सुधार तथा विस्तारका लागि करिब ४६ अर्ब २५ करोड रुपैयाँ विनियोजित गरिएको जानकारी दिए। ऊर्जा क्षेत्रको रूपान्तरणका निम्ति अहिले सरकार प्रस्थान विन्दुमा रहेको भन्दै उनले ऊर्जामार्फत देशको आर्थिक विकासमा अझ धेरै काम गर्न बाँकी नै रहेको उल्लेख गरे।
यो पनि…
उनले लामो समयदेखि अलपत्र परेका आयोजना चाँडो सम्पन्न गर्ने र यसै वर्ष पूरा हुने आयोजनामा बजेट विनियोजन गर्दा प्राथमिकता दिएको बताए।
मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षभित्र जलविद्युत् आयोजनाबाट ६७० मेगावाट र सौर्य आयोजनाबाट ३७० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध हुँदा कुल जडित क्षमता पाँच हजार ५३५ मेगावाट पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए।
साथै आगामी १० वर्षमा विद्युत् जडित क्षमता तीस हजार मेगावाट पुर्याउने सरकारको लक्ष्य रहेको उनले बताए। उनले उत्पादित विद्युत् खेर जान नदिन उपभोक्तासम्म दिगो आपूर्ति सुनिश्चित गर्न सरकारले उत्पादनभन्दा बढी प्रसारण र वितरण प्रणाली सुदृढीकरणमा जोड दिएको समेत बताए।