काठमाडौँ। प्रहरीले सञ्चार सेट वाकिटाकीसहित एक जनालाई पक्राउ गरेको छ।
‘प्रहरी हुँ’ भन्दै धम्क्याएको आरोपमा काठमाडौँ महाननगरपालिका ३ घर भएका ४७ वर्षीय शैलेश डंगोललाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रदेश ३-०१-०२३च २५३० नम्बरको गाडीमा चढेका डंगोललाई बुधबार राति प्रहरी प्रभाग काँडाघारीको टोलीले पक्राउ गरेको हो। डंगोलले काठमाडौँ ३२ फुटबल ग्राउन्डमा प्रहरीले प्रयोग गर्ने वाकिटाकी सेट देखाएर ‘प्रहरी हुँ’ भन्दै धम्की दिएको परिसर प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।
उनको साथबाट सूचना तथा प्रसारण विभागबाट जारी भएको प्रभाव दैनिकको परिचयपत्र पनि बरामद भएको भट्टराईले बताए। उक्त परिचयपत्र नवीकरण नरहेको पाइएको छ।
प्रहरीले जिल्ला अदालत काठमाडौँबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर डंगोलमाथि अनुसन्धान थालेको छ।