काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज बिहान सार्वजनिक गरिएको हो।
सार्वजनिक नतिजा अनुसार यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ परीक्षामा सहभागी कुल ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका हुन्।
त्यसैगरी, नियमिततर्फका १ लाख ४ सय ७१ एनजीको सामना गरे। यो नियमिततर्फको कुल परीक्षार्थी संख्याको करिब ३०.२५ प्रतिशत हो।
नियमित र आंशिक गरी यसपटक कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। जसमध्ये आंशिकतर्फका ३६ हजार ४२० जनासहित कुल २ लाख ६८ हजार १९० जनाले नतिजामा सफलता हात पारेका छन्।
दुवैतर्फका गरी ६४.३१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। परीक्षामा अमर्यादित गतिविधि गर्ने ४० जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।
सैद्धान्तिक परीक्षामा कम्तीमा ‘डी’ ग्रेड ल्याउनुपर्ने बोर्डले जनाएको छ। सोभन्दा कम अंक ल्याई बढीमा दुई विषयमा ‘एनजी’ आएका वा बढीमा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीले मौका (पूरक) परीक्षा दिन पाउनेछन्। समयतालिका छिट्टै सार्वजनिक गर्ने बोर्डले जनाएको छ।
विद्यार्थीले नतिजा राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकमको वेबसाइट साथै एसमएसबाट थाहा पाउन सकिने बताएको छ।