६ असार २०८३
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले महाधिवेशनका क्रममा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्।

महाधिवेशनअघि चितवनमा शनिबार बसेको रास्वपा केन्द्रीय समिति बैठकमा उनले स्वच्छ प्रतिस्पर्धाबाट पार्टीलाई नयाँ उचाइतर्फ लान सक्ने भन्दै यसतर्फ ख्याल गर्न आग्रह गरे। उनले निर्वाचनबाट जस्तो परिणाम आए पनि रास्वपाका सबै नेता तथा कार्यकर्ता एउटा जिम्मेवार नागरिकका रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे।

लामिछानेले अहिलेसम्म आफ्नो नेतृत्वलाई विश्वास गरेर साथ दिएकोप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि पार्टीलाई अझ समृद्ध पार्ने जिम्मेवारीका साथ एकताबद्ध भएर अघि बढ्ने धारणा राखे। आफ्नो जिन्दगीको अनेक भोगाइ र उतारचढावबीच पछिल्लो चार वर्षमा भएका कामहरूको व्याख्या र वर्णन गर्न आवश्यक नरहेको भन्दै सभापति लामिछानेले पारदर्शी रूपमा आफूहरू आमनागरिकको सार्वजनिक परीक्षणमा रहेको बताए।

उनले अहिले रास्वपाको जिम्मेवारी हिजोको भन्दा धेरै महत्त्वपूर्ण रहेको समेत बताए। रास्वपाका माध्यमबाट नागरिकले देखेको सुशासन, समृद्धि र सामाजिक न्यायको सपना पूरा गर्न जिम्मेवारीपूर्वक अघि बढ्ने लामिछानेले उल्लेख गरे।