६ असार २०८३
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले सरकारका कमी-कमजोरीविरुद्ध सशक्त रूपमा खबरदारी गर्ने भएको छ।

संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारको काम-कारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका कमी-कमजोरीविरुद्ध सशक्त रूपमा खबरदारी गर्ने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।

बैठकमा सांसदहरूलाई राष्ट्रिय मुद्दाहरूलाई उठान गर्ने, जनजीविकाका सरोकारहरूलाई प्रभावकारी रूपमा सदनमा प्रस्तुत गर्न संसदीय दल र पार्टीबीच समन्वय गर्ने विषयमा छलफल भएको उनले बताए।

महामन्त्री पौडेलले प्रमुख प्रतिपक्षी दलले सदनमा निरन्तर आफ्ना विषय राख्दा पनि सरकारले नसुनेको भन्दै निरन्तर खबरदारी गरिराख्ने बताए।

उनले विषयगत मन्त्रालयले गरेका कामबारे अध्ययन गर्न पार्टीका नेताहरूलाई जिम्मेवारी तोकिएको भन्दै सरकारले सय दिनमा १० कामसमेत गर्न नसकेको धारणा राखे।