काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

म्युनिसिपल कन्फरेन्समा सहभागी हुन काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनीता डंगोल इजरायल प्रस्थान‚ प्रतिनिधि मण्डलमा प्रवक्ता मानन्धर र विपद् व्यवस्थापन समिति संयोजक थापा पनि सहभागी

७ असार २०८३
अ+
अ-

काठमाडौँ। इजरायलको तेल अबिबमा आयोजना हुने म्युनिसिपल कन्फरेन्सको दशौँ संस्करणमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोल सहभागी हुँदै छिन्। साथै महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर र विपद व्यवस्थापन समिति संयोजक प्रेम थापा पनि सहभागी हुनेछन्। कन्फरेन्समा सहभागी हुन डंगोल‚ मानन्धर र थापा इजरायल प्रस्थान गरेका छन्।

इजरायली विदेश मन्त्रालयको निमन्त्रणामा तीनैजना शनिबार रातिको उडानबाट कार्यक्रमका लागि प्रस्थान गरेका हुन्। ‘सफल साझेदारी (विनिङ पार्टनरसिप)’ शीर्षकमा हुने सम्मेलनमा सहभागी हुन विश्वका १५० भन्दा धेरै सहरका प्रमुख, नगरपालिकाका नेताहरू, सरकारी अधिकारी, सहरी योजनाकार तथा विज्ञहरूको सहभागिता हुनेछ।

९‚ १० र ११ असारसम्म तीन दिन चल्ने कार्यक्रममा नेपालबाट काठमाडौँसहित पोखरा महानगरपालिका र जनकपुर उपमहानगरपालिकाका प्रमुख तथा प्रतिनिधि सहभागिताका लागि इजरायल गएका छन्। उनीहरू सम्मेलनसँगै आयोजना हुने प्रदर्शनी (एक्पो) मा बृहत् व्यावसायिक भ्रमणमा पनि सहभागी हुनेछन्।

सम्मेलनमा सहभागी भएर नेपाली प्रतिनिधिमण्डल शुक्रबार स्वदेश फर्किने

सहरी व्यवस्थापनका उन्नत तथा नवीन प्रविधिहरू, नगरपालिकाका नवीन अभ्यास र स्थानीय शासनका असल तथा सफल मोडलका विषयमा आपसी ज्ञान, सीप र अनुभव आदान-प्रदान गर्नु सम्मेलनको मुख्य उद्देश्य हो। यसका लागि विषयगत सम्मेलन र व्यावसायिक सञ्जाल निर्माण सत्रहरू सञ्चालन हुनेछन्।

यो कार्यक्रम इजरायलको स्थानीय सरकार महासंघको प्रमुख वार्षिक कार्यक्रम हो। स्थानीय शासनका नेताहरू, सहरी विकास तथा व्यवस्थापनका योजनाकारहरू, नवप्रवर्तनमा काम गर्ने विज्ञहरूबीच हुने छलफलबाट सहरी समस्या समाधानका लागि अत्याधुनिक प्रविधि र उपाय खोजिनेछ। यसका लागि फरक परिवेशका सहरी नेतृत्वमा रहेका मेयर र नगरपालिकाका प्रतिनिधिसँग विचार आदानप्रदान, दिगो सहरी विकास, स्मार्ट सहर, सार्वजनिक सेवा, नवीन परियोजनाहरू अन्वेषणका लागि योजना हुन्। इजरायल भ्रमण सकेर नेपाली प्रतिनिधिमण्डल शुक्रबार स्वदेश फर्कनेछ।