तुलसीपुर। दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्।
दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी १० वटै स्थानीय तहले कुल १० अर्ब १६ करोड ६८ लाख ६१ हजार ४५४ रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्।
तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब ४४ करोड ९५ लाख ९१ हजार रुपैयाँको बजेट ल्याएको छ। यो यहाँका सबै स्थानीय निकायको भन्दा बढी छ। घोराही उपमहानगरपालिकाले दुई अर्ब ३७ करोड ९५ लाख २२ हजार रुपैयाँको बजेट पेस गरेको छ।
लमही नगरपालिकाले ९८ करोड १३ लाख ३७ हजार ४५४ रुपैयाँ‚ गढवा गाउँपालिकाले ८२ करोड ५४ हजार रुपैयाँ, राप्ती गाउँपालिकाले ७५ करोड चार लाख ९६ हजार रुपैयाँ, बंगलाचुली गाउँपालिकाले ६२ करोड ८१ लाख ३३ हजार रुपैयाँ, राजपुर गाउँपालिकाले ६१ करोड एक लाख ९० हजार रुपैयाँ बजेट प्रस्तुत गरेका छन्।
त्यसैगरी बबई गाउँपालिकाले ५६ करोड चार लाख ४३ हजार रुपैयाँ, शान्तिनगर गाउँपालिकाले ५२ करोड २५ लाख ४७ हजार रुपैयाँ, दंगीशरण गाउँपालिकाले ४६ करोड ४५ लाख ४८ हजार रुपैयाँ बजेट सार्वजनिक गरेका छन्।
पालिकाहरूले विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, भौतिक पूर्वाधार र रोजगारी सिर्जनालाई बजेटमा प्राथमिकता दिइएको छ।
पालिकाहरूले संघीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, ससर्त, समपूरक र विशेष अनुदानका साथै आन्तरिक राजस्वलाई बजेटको मुख्य स्रोतका रूपमा लिएका छन्।