काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

११ असार २०८३
अ+
अ-

काठमाडौँ। अस्कर कलेज र चलचित्र विकास बोर्ड नेपालको सहकार्यमा आयोजित एकमहिने लेखन कार्यशालाका आठ सहभागीले आफ्नो कथाको पहिलो ड्राफ्टलाई पूर्णता दिएका छन्।

३० वैशाखदेखि ३० जेठसम्म सञ्चालित कार्यशालाबाट दीपिका थापाको ‘विसर्ग’, सुदीप एटीको ‘भ्यागुताको उडान’, दिवसराज भट्टराईको ‘नेपाल यातायात’, माइकल महतको ‘आफ्नै आकाश’, रमेश महतोको ‘राजासाहेब’, इभेन्जिला तुलाधरको ‘फलेन पेटल्स’, प्राञ्जल पाण्डेको ‘घरको बाटो’, मञ्जुश्री नेपालीको ‘म्युज’ ले पूर्णता पाएको हो।

मेन्टर सुरज सुवेदीको सहजीकरणमा सम्पन्न कार्यशालाका लागि प्राप्त ४२ आवेदनमध्ये छनोट समितिले आठ सहभागी छनोट गरेको थियो। एक महिनाको अवधिमा सहभागीले सिर्जनात्मक लेखन, कथा विकास, चरित्र निर्माण, दृश्य संरचना, संवाद लेखन तथा व्यक्तिगत अनुभवलाई कलात्मक अभिव्यक्तिमा रूपान्तरण गर्ने अभ्यासमा सहभागिता जनाएका थिए। यस क्रममा सहभागीका अनुभव, कल्पना र अवलोकनबाट जन्मिएका कथामध्ये उत्कृष्ट कथा छनोट गरी तिनलाई पटकथाको स्वरूप दिन मार्गदर्शन गरिएको मेन्टर सुवेदीले बताए।

कार्यशाला समापन कलेज परिसरमा रहेको साधना घर थिएटरमा भएको थियो। जहाँ बोर्ड अध्यक्ष दिनेश डीसी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। समापन कार्यक्रममा सहभागीहरूले आफ्नो लेखन यात्राका अनुभव सुनाउँदै कार्यशालामा विकसित दृश्य वाचन गरेका थिए।

अध्यक्ष दिनेश डीसीले सहभागीको प्रस्तुति अवलोकन गर्दै नेपाली चलचित्र तथा रंगमञ्च क्षेत्रको भविष्य नयाँ पुस्ताका सर्जकको हातमा रहेको उल्लेख गरे। उनले भने, “यस्ता कार्यशालाले नेपाली कथावस्तुको दायरा विस्तार गर्नुका साथै सिर्जनशील प्रतिभालाई व्यावसायिक क्षेत्रमा प्रवेश गर्न प्रेरित गर्छ।”

कार्यशाला संयोजक जेम्स ढकालले अन्तिम रूपमा विकसित सबै पटकथालाई अस्कर कलेजको सहकार्यमा साधना घर थिएटरमा मञ्चन गर्ने अवसर प्रदान गरिनेछ। उनका अनुसार मौलिक कथा र नयाँ आवाजहरूको विकास गर्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो।