काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

१२ असार २०८३
प्रधानन्यायाधीश मनोजकुमार शर्मा। तस्बिर : सरोकार
अ+
अ-

काठमाडौँ। प्रधानन्यायाधीश मनोजकुमार शर्माले अदालतका फैसला वा आदेश, न्यायिक प्रक्रिया तथा कानुन विषयलाई यथार्थ र सन्तुलित रूपमा प्रस्तुत गर्न सकिएमा न्यायपालिकाप्रतिको जनविश्वास अझ सुदृढ बन्ने बताएका छन्।

सर्वोच्च अदालतमा शुक्रबार आयोजित अदालत र सञ्चारकर्मीबीच अन्तर्क्रियामा उनले नागरिकको सुसूचित हुने अधिकारको प्रभावकारी कार्यान्वयन स्वतन्त्र, निष्पक्ष र जिम्मेवार सञ्चारमाध्यममार्फत नै सम्भव हुने भन्दै न्यायपालिकाका गतिविधि सन्तुलित रूपमा जनसमक्ष प्रस्तुत गर्न सके न्यायपालिकाप्रतिको जनविश्वास अझ सुदृढ बन्ने बताएका हुन्।

न्यायिक विषयवस्तुको समाचार सम्प्रेषण गर्दा तथ्यपरकता, सन्तुलन, शुद्धता र पेसागत उत्तरदायित्वको विशेष महत्त्व रहने उनले बताए। उनले अदालत र सञ्चार क्षेत्र दुवै संस्थाका कार्यक्षेत्र र जिम्मेवारी फरक भए पनि कानुनको शासन, पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक मूल्यहरूको प्रवर्द्धनमा साझा उद्देश्य रहेको धारणा राखे।

दुई संस्थाबीच एक-अर्काको संवैधानिक भूमिका, स्वतन्त्रता र मर्यादाको सम्मान गर्दै पारस्परिक समझदारी र सहयोगको वातावरण निर्माण गर्नु आवश्यक रहेको उनको भनाइ छ।

उनले न्यायिक विषयवस्तुसँग संवेदनशील र कानुनी ढंगले जटिल हुने भएकाले त्यस्ता विषयको समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी अपेक्षित हुने धारणा राखे। न्यायपालिकाले पनि आफ्ना गतिविधि, निर्णय तथा सूचनालाई समयानुकूल, व्यवस्थित र सहज रूपमा सार्वजनिक गर्न निरन्तर प्रयासरत रहनुपर्ने आफ्नो विश्वास रहेको उनको भनाइ छ। -सरोकार