काठमाडौँ। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। उनीहरूले सुरक्षित पुनःस्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शन गरेका हुन्।
भू स्वामित्वसहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित गर्न मागसहित उनीहरूले शनिबार काठमाडौँको माइतिघरदेखि बबरमहलसम्म प्रदर्शन गरे।
उनीहरूले सरकारले पटक-पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानुनबमोजिम दिगो, उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन्। साथै उनीहरूले पुन:स्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानुनबमोजिम उपयुक्त स्थानमा भू-स्वामित्वसहितको स्थायी व्यवस्थापनको माग गरेका छन्।

प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका तर्फबाट दलमर्दन कामीले होल्डिङ सेन्टरमा रहेकालाई हट्न पटक-पटक दबाब दिँदा मानसिक तनाव उत्पन्न भएको बताए। उनले सरकारका विभिन्न निकाय र प्रहरीहरूले २५ हजार रुपैयाँ बुझेर होल्डिङ सेन्टर छाड्न दबाब दिएको उल्लेख गरे।

उनले आफूहरूलाई सरकारले सडकमा अलपत्र पार्न खोजेको भन्दै तत्काल उचित व्यवस्थापनको माग गरे। प्रदर्शनमा सहभागीहरूले डोजर होइन, समाधान दे, जनता मार्न पाइँदै, यस्तो सरकार चाहिँदैन, गरिबमाथिको ज्यादती बन्द गरलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै १९ असारसम्म होल्डिङ सेन्टर छाड्न भनेपछि उनीहरू आन्दोलित भएका हुन्।
