जनकपुर। प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका ९‚ थापा चोकस्थित एक होटेलबाट दुई जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले पेस्तोल र गोलीसहित धनुषाको मुखियापट्टि मुसहनियाँ गाउँपालिका ४ का २० वर्षीय अमन यादव र धनुषाकै हंसपुर नगरपालिका ६‚ सोनीगामाका १८ वर्षीय सुधीर मुखियलाई पक्राउ गरेको हो।
होटेलमा आज (शनिबार) दिउँसो खाना खान आएका दुई युवकसँग हतियार रहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले हतियारसहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए।
पक्राउ परेका दुवै जनाका साथबाट एक थान पेस्तोल, त्यसको एउटा म्यागजिन, नौ एमएम केएफ लेखिएको एउटा गोली र ७.६५ एमएम केएफ लेखिएका तीनवटा गोली बरामद भएको प्रहरी निरीक्षक यादवले बताए। उनका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।